सदनमा प्रधानमन्त्री बोल्ने कि देउबा बोल्ने भन्ने विवाद, प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ असर ३ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले अवरोध पुऱ्याएपछि प्रतिनिधि सभाको मङ्गलबारको बैठक स्थगित भएको छ ।

आज सदनमा प्रधानमन्त्री केपी ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । प्रधानमन्त्री ओली सम्बोधनका लागि रोष्ट्रमतिर जान लाग्दा कांग्रेस सांसदहरूले रोष्ट्रम घेराउ गर्न पुगेका थिए ।

कांग्रेसले प्रधानमन्त्रीको सम्बोधनपूर्व आफ्ना नेताले बोल्न पाउनु पर्ने माग गर्दै आइरहेको थियो ।

सभामुख महराले पछि बोल्न दिने भन्दै आश्वासन दिए पनि कांग्रेस सांसदले नाराबाजी सुरु गरेका थिए ।

उक्त सम्बोधनमा प्रधानमन्त्रीले युरोप भ्रमण र समसामयिक राजनीतिबारे आफ्नो धराना राख्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्रीले संसदमा आफ्नो नौ दिने युरोप भ्रमण र गुठी विधेयकबारे बोल्ने अपेक्षा गरिएको थियो ।

११ बजेदेखि बोलाइएको संसद्को बैठक कांग्रेसले आफ्ना नेताले पहिला बोल्न पाउनु पर्ने माग राखेपछि १२ बजे मात्र सुरु भएको थियो ।

सभामुख कृष्णबहादुर महाराले सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतकहरूसँग चरणचरणमा छलफल गर्दा पनि सहमति हुन नसकेपछि सभामुखले १२ बजेदेखि बैठक संचालन गर्ने निर्णय लिएका थिए ।

सहमति नभइकनै बैठक संचालन भएपछि कांग्रेस सांसदहरू आफ्नो सिटबाट उठेर नाराबाजी गर्दै रोष्ट्रम घेराउ गर्न पुगेपछि प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको हो ।

सभामुखले बुधबार ११ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना सुनाएर बैठक स्थगित गरिएको जानकारी गराएका थिए ।

कमेन्ट गर्नुहोस्