कर्णालीमा खसेको जीपको खोजी जारी, अझै १० जना बेपत्ता

सिमकोट, असार ३ । सडक संजाल नजोडिएको हुम्ला जिल्लामा स्थानीय स्तरमा संचालिन सडकबाट लु १ ज ७१६६ नम्बरकको महेन्द्र बोलेरो जीप कर्णाली नदीमा खस्दा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सहित १० जना बेपत्ता भएका छन्। गाउँपालिकाको खार्पुबाट पालिका केन्द्र याङ्चुमा यात्रु ओसार्ने क्रममा जीप कैल्या बालु र बेडु बिसौनी क्षेत्रमा कच्ची सडकबाट कर्णाली नदीमा खस्दा यति धेरै यात्रु बेपत्ता भएका हुन् ।

दुर्घटनामा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाही बेपत्ता भएकी छिन् । त्यसै गरि बेपत्ता हुने अन्यमा गाडी चालक सिमकोट आठ निबासी मणी शाही, खार्पुनाथ–४ निबासी चन्द्र हमाल, नैन सिंह भण्डारी वडा–५ की बसन्ती शाही, १३ बर्षका गोकुल सुनार, नन्ददेबी सिंह खार्पुनाथ एक पिउसकी कौर दमाई र उनको नाम नखुलेको दुई बर्ष छोरा र काठमाडौ थानकोट निबासी वेल्डिङ मास्टर राजु श्रेष्ठ रहेको घटना स्थलमा रहेका गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावलले बताए ।

यात्रुहरु बेपत्ता भएको लामो समय भएको कारण जिबीतै भेटाउने संभाबना कम भएको उनले बताए । जीप खसेको स्थान कर्णाली नदि भन्दा २५ देखि ३० मिटर माथि रहेको छ । घटनाको प्रकृति हेर्दा गाडी कच्ची सडकबाट हुत्तिएर सिधै ओरालो झरेर कर्णाली नदीको बीचमा खसेको अध्यक्ष रावलले बताए । जीपमा अरु पनि यात्रु हुन सक्ने तर उनीहरुको बारेमा कुनै जानकारी भएको छैन ।

दिउँसो १२ः३० बजे बिस्तारै गुडी रहेको जीप सडकबाट एक्कासि भिरालो जमीनमा झरेर कर्णालीमा खसेका खार्पुनाथ चारको छिप्रा गाँउको जिउलाबाट प्रत्यक्ष दर्शी हरिबहादुर सुनारले बताए । जीप नदीमा खसै पछि यात्रुहरुका झोला बगेको र एक जना महिला हात हल्लाएर गुहार मागि रहेको देखेको उनले बताए । सडकमा प्रिन्टर सहितको कार्टुन, फुटेको अण्डाको क्यारेट र एक थान जर्किन र गाडीको अगाडीको सिसा छरपुष्ट अबस्थामा रहेको देखिएका थिए ।

उक्त सडकमा गाडी गत पुस महिनाबाट संचालनमा आएको थियो । खार्पुनाथ यातायात प्रालिको एकउटा मात्र गाडी संचालनमा रहेको थियो । घटना भए लगत्तै सिमकोटबाट हेलिकोप्टरमा नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरीको उद्धार टोली पुगेको भए पनि घटना स्थल निक्कै गहिरो भएको कारण केही गर्न सक्ने अबस्था नरहेको प्रहरीले जनाएको छ । स्थानीय र याङ्चु प्रहरी चौकीका प्रहरीहरु लालि वगरसम्म कर्णाली नदीको किनारमा अबेरसम्म खोजी गरि रहेको भए पनि केही पत्ता लाग्न सकेको छैन ।

कमेन्ट गर्नुहोस्