पाँचथरमा एक युवतीको घाँटी रेटी हत्या

पाँचथर, असार ४ । जिल्लाको हिलिहाङ गाउँपालिका–६ मा घाँटी रेटी एक युवतीको हत्या गरिएको छ । २० वर्षीया सुजाता तामाङको मंगलबार साँझ घाँटी रेटी एक युवतीको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए ।

सुजताको साथमा रहेको ७८ हजार ५ सय रुपैयाँ पनि हत्यामा संलग्नहरुले लुटेर लगेको प्रहरीले जनाएको छ । उनको हत्या लुटपाटकै लागि गरिएको हो या अन्य कारणले हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

हत्या गरिएकी तामाङ हिलिहाङ गाउपालिका–३, गोपेटारमा रहेको एनएमबी माइक्रोफाइनान्समा काम गर्थिन् । मंगलबार गाउँका दुई ठाउँका बैठकमा सहभागी भएर फर्कने क्रममा हिलिहाङ गाउँपालिका–६, चित्ते भन्ने स्थानको जङगलको गोरेटो बाटोमा उनको हत्या भएको थियो ।

इलामको माइजोगमाई गाउँपालिका–५ घर भएकी तामाङको शव अहिले जिल्ला अस्पताल फिदिममा राखिएको छ । उनका आफन्त आएपछि शवलाई पोस्टमर्टम गरिने प्रहरीले बताएको छ । हत्याराको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्