मुख्यमन्त्री गुरुङ भन्छन्, ‘जनप्रतिनिधि नै ठेक्कापट्टामा सहभागी भए’

लमजुङ, असार ४ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कतिपय जनप्रतिनिधिहरु आफैं ठेक्का पट्टामा सहभागी भएको आरोप लगाएका छन् । लमजुङको बेसीशहर नगरपालिकाको पाँचौ नगरसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो आरोप लगाएका हुन् ।

मुलुकमा लोकतन्त्र, समावेशीताको अभ्यास भइरहँदा उपभोक्ता समितिको नाममा जनप्रतिनिधिहरु आफैं ठेकेदार बनिदिँदा मुलुकको शासन प्रणालीनै कमजोर बन्दै गएको मुख्यमन्त्रीको भनाई थियो । उहाँले जनप्रतिनिधिहरु आफैं वा परिवार, आफन्तहरुलाई ठेक्का दिँदै उपभोक्ता समितिसँग मिलेमतो गरी धेरै ठाउँमा भ्रष्टाचार गरेको उल्लेख गरे ।

अर्को प्रसङगमा मुख्यमन्त्री गुरुङले जनप्रतिनिधि दक्ष हुन आवश्यक रहेको बताए । उनले भने, ‘जनप्रतिनिधि दक्ष भए स्थानीय तह बलियो हुन्छ । तीन तहको उत्कष्ट लोकतान्त्रिक संघीय अभ्यासमा आफूहरू रहेको हुँदा त्यसको महत्वलाई पहिलो बुझ्ने दायित्व जनप्रतिनिधिको भएको उनको भनाई थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका सदस्य मधु अधिकारी, प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरे, जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डे, जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्य, प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई र नेपाली कांग्रेसका सभापति भेषबहादुर पौडेलले स्थानीय तहमा न्यायिक अधिकार आउनु गौरवको विषय भएको भन्दै यो चुनौतिलाई कार्यान्वय गर्न समन्वय गर्नुपर्ने बताए । बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले आगामी आर्थिक वर्ष ०७६÷७७ का लागि ७२ करोड २८ लाख ३ हजार प्रस्ताव गरेका छन् ।

कमेन्ट गर्नुहोस्