बिमलाको मृत्यु रहस्यमय, संचालक सञ्जेलसहित ४ पक्राउ

काठमाडौं, असार ४ । समता अस्पतालमा मृत भेटिएकी रामेछाप दोरम्बाकी बिमला तामाङको मृत्यु शंकाष्पद मानिएपछि अस्पताल संचालक उत्तम सञ्जेलसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

२७ वर्षीया विमलाको भित्री वस्त्रमा ३ जनाको नाम उल्लेख गरी उनीहरुलाई समाउनु भन्ने कागज फेला परेपछि स्थिती अझ उग्र बनेको थियो ।

एक सय रुपैयाँमा विरामीलाई सेवा दिँदै चर्चामा आएको समता अस्पताल परिसरमा मृतक विमलाका आफन्त तथा स्थानीयको भीडले तोडफोड तथा नारावाजी गरेका थिए । स्थितीलाई नियन्त्रणमा लिन ठूलो मात्रामा प्रहरी फोर्स परिचालन गरिएको थियो ।

सोही अस्पतालमा क्लिनरको रुपमा काम गर्दै आएकी बिमला सोमबार विहान काम गर्न जाने भन्दै घरबाट निस्किएकी थिइन् । साँझ अबेरसम्म पनि नफर्किएपछि सोधखोज गरिएको थियो । श्रीमान र केही आफन्तहरु अस्पतालसम्म पनि खोजी गर्न आइपुगेका थिए । तर बिमला नभएको भन्दै त्यहाँका कर्मचारीहरुले बताएका थिए । अस्पताल परिसरमा खोजी गर्ने क्रममा दुई वटा कोठामा ताल्चा लागेको र त्यसको चावी आफूहरुसँग नभएको भन्दै खोलिएको थिएन । मंगलबार बिहान सोही ताल्चा लागेको कोठाभित्र बिमला सलको पासोले झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

महानगरीय प्रहरी वृत्त गौशालाले सञ्चालक सञ्जेल, उनकी पत्नी र अन्य दुई जना कर्मचारीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जानकारी दिए । सञ्जेल दम्पतीलाई नियन्त्रणमा लिएपछि तामाङको शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्