जनार्दन शर्माको आक्रोशः ‘रुकुमको बजेट झापा र धनुषा लगियोस्’

काठमाडौं, असार ४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले रुकुमका लागि छुट्याइएको बजेट प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको जिल्लामा लैजान माग गरेका छन्। बजेट विनियोजन गर्ने क्रममा मन्त्रालयले नेता र आफूमुखी गरेको भन्दै शर्माले बुधबार बसेको संसद बैठकमा आक्रोश व्यक्त गरेका हुन्। ‘भौतिक योजना मन्त्रालयका मन्त्रीजीलाई आग्रह गर्न चाहन्छु यो रकमान्तर गरेर झापा हालियोस्। प्रधानमन्त्रीजीलाई सहयोग गर्न चाहन्छु। झापा मात्रै भन्यो भनेर मन्त्रीजीलाई दुःख लाग्छ भने थोरै जनकपुरमा पनि लगियोस्’, शर्माले भने, ‘संघीयता भएपछि सन्तुलित विकास होला, पछि परेका क्षेत्रले प्राथमिकता पाउलान् भन्ने लागेको थियो। केन्द्रीकृत र नेतामुखी बजेट बनाइयो, दुःख लागेको छ।’

शर्माले बजेटमाथिको छलफल समय खेर फाल्ने मेलो भएको भन्दै असन्तुष्टि पोखेका थिए। उनले बजेट निर्माणका क्रममा व्यापक छलफल गर्ने र बजेट पेश गरेको दिन नै पारित गर्ने व्यवस्था गर्नुपर्ने बताए। उनले भने, ‘छलफलको सिस्टम बदलौँ, व्यर्थमा समय खेर फालिरहेका छौँ। यो समयको दुरुपयोग भएको छ। संसदमा यो गर्नु ठीक छैन।’

पूर्वमन्त्री शर्माले श्रम तथा रोजगार मन्त्रीका काममा पनि असन्तुष्टि जनाएका थिए। मुलुकमा नै रोजगारीका अवसर सिर्जना गर्न लाग्नुपर्नेमा मन्त्री विदेशीसँग सम्झौता गरेर नै छाती फुलाइरहेको भन्दै आलोचना गरे। ‘मुलुकभर श्रम सहकारी गठन होलान्, युवाहरूलाई तालिम दिइएला। विकास निर्माणका काम होलान् र युवाहरूले रोजागरी पाउनलान् भन्ने लागेको थियो।’

कमेन्ट गर्नुहोस्