मेलम्चीको बाँकी कामका लागि ठेक्का आहवान, ११ महिनाभित्र काठमाडौंमा पानी

काठमाडौं, असार ५ । खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको सुरुङसहित बाँकी निर्माणको काम गर्न ठेक्का आहवान गरेको छ । करिब ६ महिनादेखि ठप्प रहेको आयोजनाको काम अघि बढाउन ठेक्का आहवान गरिएको हो । मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माका अनुसार १० वटा प्याकेजमा टेन्डर आहवान गरिएको छ । ‘व्ययभार नबढ्ने गरी टेन्डर आहवान गरेका छौं,’ उनले भने, ‘चाँडै सबै प्रक्रिया पुर्‍याएर काम अघि बढाउँछौं ।’

याे पनि पढ्नुस  मेलम्चीमा स्थानीय ठेकेदारहरुको पैसा दिन सकिन्न– खानेपानी सचिव

सचिव शर्माका अनुसार मेलम्चीको बाँकी कामलाई मुख्य दुइटा प्याकेजमा विभाजन गरिएको छ । त्यसभित्र ससाना गरी १० वटा प्याकेजमा बाँडिएको छ । पहिलो प्याकेजभित्र हेड वर्क्सअन्तर्गतको ड्याम निर्माण, पुल निर्माणलगायत छन् भने दोस्रो प्याकेजमा सुरुङभित्रको फिनिसिङ, गेट, भेन्टिलेटरलगायत निर्माण कार्य छन् ।विभिन्न प्याकेजमा काम गर्दा करिब ११ महिनाभित्र पानी उपत्यकामा ल्याउन सकिने सचिव शर्माले बताए । सुरुङलगायतका काम सम्पन्न गर्न करिब २ अर्ब ५२ करोड रुपैयाँ लाग्ने आयोजनाको अनुमान छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

याे पनि पढ्नुस  मेलम्चीमा स्थानीय ठेकेदारहरुको पैसा दिन सकिन्न– खानेपानी सचिव

कमेन्ट गर्नुहोस्