पहिरन विवादबारे वर्षाको बयानः ‘जवाफ दिन जरुरी छैन’

काठमाडौं, असार ५ । प्रदर्शनरत नेपाली चलचित्र ‘जात्रै जात्रा’को सफलताले हौसिएकी अभिनेत्री वर्षा राउत खासै विवादमा फसेकी छैनन् । यद्यपि, विभिन्न कारणले फिल्मवृतमा उनको चर्चा भने भइरहेको हुन्छ। तर, कहिले काहिँ जीवनमा नसोचेको घटना आइपर्छ । गर्न एउटा खोजे पनि भइदिन्छ अर्को । फिल्म करिअरको करीब ५–६ वर्षमा खासै मुश्किल समय नगुजारेकी वर्षाले हालै एक कठिन परिस्थितिको सामना गर्यो ।

चलचित्र ‘जात्रै जात्रा’ को प्रदर्शनका लागि अष्ट्रेलियामा रहँदा उनी नराम्रोसँग ट्रोलको शिकार भइन् । यसको कारण थियो, उनको पहिरन। उनले लगाएको सेतो र कालो रंग मिसिएको पहिरन घाँटीतर्फको भाग निकै खुलेको थियो भने वक्षस्थलको आधाभन्दा बढी भाग स्पष्ट देखिएको थियो । उनको यस पहिरनले दर्शक अचम्मित भए । किनकि यसअघि वर्षा यस प्रकारको पहिरनमा देखिएकी थिइनन् ।

ट्रोलर्सले विवाहपछि उनी उत्पादै बोल्ड भएको भन्दै ट्रोल बनाए । दुईअर्थी शब्द प्रयोग गरेर पनि थुप्रै खालका ट्रोल बने । यसले उनको व्यक्तिगत जीवनमा नराम्रो असर गर्‍यो । तर, उनलाई श्रीमान् संजोग कोइरालाले नै साथ दिए । संजोगले उनलाई जस्तोसुकै परिस्थितिमा साथ दिने भन्दै स्टाटस लेखे । ‘जात्रै जात्रा’ टिमले पनि वर्षालाई हौसला दिँदै स्टाटस लेख्यो । केही सेलिब्रेटीले पनि उनलाई सपोर्ट गरे।

पर्दामा प्रायः साधारण युवती वा विवाहित महिलाको भूमिका निभाउँदै आएकी वर्षा पहिरनलाई लिएर भएको विवादबारे भने लामो समय मौन रहिन् । तर, मंगलबार राजधानीमा भएको चलचित्र ‘जात्रै जात्रा’ को स्पेशल शोमा सञ्चारकर्मीले पहिरनलाई लिएर भएको विवादबारे उनको भनाई जान्न खोजे । ‘जीवन जात्रा हो’ लेखिएको टिर्सट लगाएकी उनले आफूलाई सपोर्ट गर्ने सबैलाई धन्यवाद दिँदै यसको जवाफ दिन जरुरी नभएको बताइन् ।

‘म त्यस पहिरनमा कन्फटेबल छु । मेरो वरिपरि भएका मानिसहरुलाई समस्या छैन । मेरो परिवारलाई केही समस्या छैन । मलाई माया गर्ने दर्शकहरुलाई केही समस्या छैन भने मलाई यसको जवाफ दिन आवश्यक छ भन्ने लाग्दैन’, उनी कड्किइन् । वर्षाले आफ्नो व्यक्तिगत जीवनमा भने ट्रोलले केही फरक पारेको बताइन् । आफूलाई मन परेको पहिरन लगाउन पाउने स्वतन्त्रता सबैमा रहेको पनि उनी बताउँछिन् ।

अहिले वाक स्वतन्त्रताको कुरा उठिरहेको अवस्थामा पहिरनमा पनि स्वतन्त्रता हुने बताउँदै वर्षा अगाडि भन्छिन्, ‘आफूलाई जे मन लाग्छ त्यो लगाउनुस् र, दुनियाँको कुरा नसुन्नहोस् ।’ वर्षाको पहिरनको विवाद भएपछि उनको समर्थनमा फेसबुकमा स्टाटस लेखेका ‘जात्रै जात्रा’ का निर्देशक प्रदीप भट्टराईले यसलाई आफूले साधारण रुपमा लिएको बताए । यस विषयमा अभिनेता विपिन कार्की भने मौन रहे ।

कमेन्ट गर्नुहोस्