विश्वकप क्रिकेटः अष्ट्रेलिया र बंगलादेशको खेल रोकियो

काठमाडौं, असार ५ । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बंगलादेश र अष्ट्रेलियाबीचको खेलमा वर्षा बाधक बनेको छ । अष्ट्रेलियाले अन्तिम ओभर खेल्नु बाँकी रहँदा पानी परेपछि अहिले खेल रोकिएको छ ।  यो समाचार तयार पार्दासम्म अष्ट्रेलियाले ४९ ओभरमा ५ विकेट गुमाएर ३६८ रन बनाएको छ ।

डेभिड वार्नरको विस्फोट प्रर्दशनमा अष्ट्रेलियाले बंगलादेशलाई विशाल रनको लक्ष्य दिने पक्का छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको अष्ट्रेलियाले ४९ ओभरमा ५ विकेट गुमाएर ३६८ रन बनाएको छ । उसका लागि वार्नरले शानदार प्रदर्शन गरे । उनले ५ छक्का र १४ चौकाको मद्दतमा १४७ बलमा १६६ रन बनाए । जारी विश्वकपमा वार्नरको यो दोस्रो शतक हो । साथै, उनी यो विश्वकपमा सर्बाधिक ठूलो रन बनाउने ब्याट्सम्यान पनि बनेका छन् ।

यति मात्र होइन वार्नर चालु विश्वकपमा सर्बाधिक रन बनाउने खेलाडीसमेत बनेका छन् । अष्ट्रेलियालाई विशाल स्कोरमा लैजान उस्मान ख्वाजाले ७२ बलमा ८९, कप्तान आरोन फिन्चले ५१ बलमा ५३, ग्लेन म्याक्सवेलले १० बलमा ३२, स्टिभ स्मिथले १ रन बनाए । यस्तै मार्कस स्टोइनिस ६ र एलेक्स केरी ९ रनमा नट आउट छन् । बलिङमा बंगलादेशका सौम्य सरकारले ३ विकेट लिए ।

कमेन्ट गर्नुहोस्