पशुपतिको गुरुयोजना निर्माण गर्न निर्देशन

काठमाडौँ, असार ६ । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले पशुपति क्षेत्र विकास कोषलाई तत्काल पशुपति क्षेत्र विकास गुरुयोजना निर्माण गर्न निर्देशन दिएको छ ।

बिहीबार आयोजित समितिको बैठकमा समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले कोषलाई यस्तो निर्देशन दिएकी हुन् ।
पशुपति क्षेत्रको धार्मिक, ऐतिहासिक, सांस्कृतिक महìव कायम राख्दै यसको निर्माण, पुनःनिर्माण, संरक्षण र विकासमा ध्यान दिनुपर्ने सुझाव पनि समितिले कोषलाई दिएको छ । पशुपति क्षेत्रसँग सम्बन्धित भेटी एवं आर्थिक कारोबार, कूल सम्पत्ति (नगद तथा जिन्सी) सार्वजनिक गर्नुपर्ने र यस क्षेत्रको स्वामित्वमा रहेका जमिनको आम्दानीलाई समयानुकूल पुनः मूल्याङ्कन गरी लागू गर्न पनि समितिले निर्देशन दिएको छ ।

पशुपति क्षेत्रको सम्पूर्ण जमिनको नापनक्सा गरी कोषलाई जग्गा धनीपुर्जा बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ ।
यसैगरी पशुपति क्षेत्रको पर्यावरणीय संरक्षण र विकासका लागि बागमती नदी, श्लेषमान्तक वन शिवपुरी र नगार्जुन क्षेत्रको संरक्षण र विकासमा पर्याप्त ध्यान दिई उचित व्यवस्थानका लागि पनि दिर्नेशन दिइएको छ । बैठकमा सांसदहरूले पारदर्शी बन्दै पशुपतिको मूल ढुकुटी खुलाउनुपर्ने धारणा व्यक्त गरेका थिए ।
समितिका सभापति थापाले पशुपति बाँदर, साँढे, गाई, मृग व्यवस्थानको समस्या, विद्युतीय शवदाह गृहको अवस्था र मूल ढुकुटीका विषयमा चासो व्यक्त गरेका थिए ।

सांसद् खिमलाल भट्टराईले बागमतीविनाको पशुपति कल्पना गर्न नसकिने चर्चा गर्दै भने– ‘बागमतीको रक्षा गरौँ । यसका लागि श्लेषमान्तक वन, शिवपुरी र नागार्जुनको पनि रक्षा हुनुपर्यो ।” सांसद् सुरेन्द्रराज पाण्डेले बागमतीको संरक्षणका लागि सुन्दरी जल र शिवपुरीका डाँडामा भौतिक संरचना बनाउन नहुने धारणा व्यक्त गर्दै भने, “डाँडाकाँडामा पनि संरचना बनाउने पर्यटन, विकास र उपयोग गर्ने नाममा गम्भीर ध्यान जानुपर्छ ।” पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले मूल मन्दिरको संरचनाको अवस्थाबारे प्राविधिक जाँच नभएको बताए । उनले भने, “भित्री स्वरूपको अवस्थाबारे थाहा छैन ।”

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले पशुपति क्षेत्र विकास कोषको विकासका लागि नीति तथा कानुन, संरचना, प्रक्रिया निर्माण पर्यावरण र गुरुयोजनाका सम्बन्धमा समयसीमा तोकेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्