भरतपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु, मेयर दाहालद्वारा उद्घाटन

चितवन, असार ६ । भरतपुर महानगरपालिकाले शुक्रबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको छ । रोजगार कार्यक्रमको उद्घाटन एक समारोहबीच महानगरपालिका प्रमुख रेणु दाहालले गरेकी छिन् ।

रोजगारी आम नागरिकको संवैधानिक अधिकार भएको बताउँदै महानगर प्रमुख दाहालले नागरिकको अधिकार र आवश्यकता पूरा गर्न आफू प्रतिबद्ध रहेको बताइन् । पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र सुशासनलाई रोजगारीसँग जोडेर समृद्धिको यात्रालाई अगाडि बढाउन भरतपुर महानगरपालिका योजनाबद्ध ढंगले अगाडि बढिरहेको उनले बताइन्।

महानगरपालिका प्रमुख दाहालले सरकारी, निजी र सहकारीसंग सहकार्य गरी बेरोजगार श्रम शक्तिको ज्ञान, सीप र क्षमताको आधारमा नयाँ नयाँ श्रम क्षेत्रको खोजी गर्दै अगाडि बढ्ने बताइन् । भरतपुर महानगरपालिकाले महानगरपालिकाका २९ वटै वडामा कार्यक्रम गर्ने र वडामा परेका बेरोजगार निवेदन, वडाको अवस्था, बेरोजगारको चाहना बमोजिम पहिलो चरणमा तीन सय ८४ जनालाई रोजगारी दिने र यसको सुरूवात वडा नं. २१ र २२ वडामा आजबाट सुरु भएको बताइन् । उनले ४ हजारको हाराहारीमा बेरोजगार निवेदन महानगरपालिकामा परेको बताउँदै आगामी दिनमा यसको व्यवस्थापन गर्दै लैजाने बताइन् ।

प्रमुख दाहालले योग्य श्रमशक्ति विदेश पलायन हुने देशकै ठूलो समस्याको रूपमा रहेको बताउँदै यसलाई रोकी देशमै रोजगारी सिर्जना गरेर अगाडि बढ्न प्रधानमन्त्री रोजगार कार्यक्रम सहयोगी हुने बिश्वास लिएको बताइन् । दाहालले श्रम ठूलोसानो नहुने भन्दै गर्बका साथ यो कार्यक्रममा सहभागी हुन आग्रह गर्दै परिवर्तन आफैबाट सुरू गर्न सहभागी सबैलाई आग्रह गरिन् । उनले रोजगार कार्यक्रम उत्पादन र विकासको पक्षमा केन्द्रित हुनुपर्ने बताइन् ।

महानगर प्रमुख दाहालले भरतपुर महानगरपालिकाले पूर्बाधार विकासका कामलाई तीब्रगतिमा अगाडि बढाइरहेको बताउँदै आगामी नगर परिषदबाट कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, सहकारी र सुशासनबाट उत्पादनलाई जोड दिने नीति तथा कार्यक्रम तय गरी दिगो र आत्मनिर्भर विकासको लक्ष्यसहित यसलाई प्रभावकारी ढंगले अगाडि बढाउने बताइन् । प्रमुख दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिचमा केही अवरोध सृजना भएर काम रोकिएको बताउँदै सबै अवरोधहरूको समाधान भइसकेको भन्दै कुनैपनि मूल्यमा रंगशाला बनाइछाड्ने बताइन् ।

कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीले राष्ट्रले लिएको रोजगार कार्यक्रमलाई सार्थक बनाउने दायित्व स्थानीय तहलाई आएको बताउँदै यसबाट लाभ लिन सबैलाई आग्रह गरिन् ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका सामाजिक महाशाखा प्रमुख प्रद्युम्न उपाध्यायले रोजगारी मानवीय जीवनको अभिन्न पाटो भएको बताउँदै सबै नागरिकलाई रोजगार बनाउने सरकारको कार्यक्रम सम्पन्न गर्नु सबैको सामुहिक दायित्व रहेको बताए।

भरतपुर महानगरपालिकाका रोजगार अधिकृत बिनोद खरालले कार्यक्रमको बारेमा जानकारी दिएका थिए । उनका अनुसार रोजगारी पाउनेहरुले पारिश्रमिकमा आधारित रहेर २० दिनसम्म दैनिक ८ सय रूपैयाँका दरले पारिश्रमिक पाउने छन् ।

वडा नं. २२ का अध्यक्ष विष्णुराज महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रामहरी सेढाइ, नेपाली काँग्रेसका कुमारप्रसाद थपलिया लगायतले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

यसैगरी वडा नं.२१ मा पनि प्रधानमन्त्री रोजगार कार्यक्रम सम्पन्न भएको छ । वडा नं.२१ मा २२ जनाले २० दिनका लागि रोजगार प्राप्त गरेका छन ।

कमेन्ट गर्नुहोस्