विश्वकप क्रिकेटः श्रीलंकाद्वारा इंग्ल्याण्डलाई २३३ रनको लक्ष्य

काठमाडौं, असार ६ । १२औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले इंग्ल्याण्डलाई २३३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३२ रन बनायो । उसका लागि एन्जेलो म्याथ्युजले १ छक्का र ५ चौकाको मद्दतमा ११५ बलमा नट आउट ८५ रन बनाए ।

यस्तै, अभिश्का फर्नान्डोले ४९, कुसल मेन्डिसले ४६, धनन्जय डी सिल्भाले २९ रनको योगदान दिए । बलिङमा इंग्ल्याण्डका जोफ्रा आर्चर, मार्क उडले ३–३, आदिल रशिदले २ र क्रिस ओक्सले १ विकेट लिए । यो खेलमा इंग्लिश टोली श्रीलंकालाई हराउन सके शीर्ष स्थानमा उक्लिने छ । यता श्रीलंका भने दोस्रो जीतको खोजिमा छ ।

वर्षाले तनाव गर्दा श्रीलंकाले ५ खेलमा २ खेलमा अंक बाँडेको छ । साथै उसले २ खेलमा हार बेहोर्दा एक खेलमा मात्र जीत हासिल गरेको छ । पहिलो खेलमा न्यूजिल्यान्डसँग १० विकेटले पराजित भएको श्रीलंकाले दोस्रो खेलमा भने अफगानिस्तानलाई ३४ रनले पराजित गरेको थियो । तर त्यसपछिका दुई खेल लगातार पानीको कारण श्रीलंकाले अंक बाँडेको थियो ।

पाकिस्तान र बंगलादेशविरुद्धको खेल पानी परेपछि रोकिएको थियो । त्यसपछि अष्ट्रेलियासँग भएको खेलमा श्रीलंका ८७ रनले पराजित भएको थियो । इंग्ल्यान्डले भने आफुले खेलको पाँच खेलमध्ये ४ मा जीत र एक खेलमा हार ब्यहोरेको छ । आफ्नो पहिलो खेलमा नै दक्षिण अअफ्रिकालाई १०४ रनले पराजित गरेको इंग्ल्यान्डले दोस्रो खेलमा पाकिस्तानसँग १४ रनले हार्न पुगेको थियो । त्यसपछिको लगातार ३ खेलमा जीत हात पारेको छ । इंग्ल्यान्डले बंगलादेशलाई १०६, वेष्ट इन्डिजलाई ८ विकेट र अफगानिस्तानलाई १५० रनले हराएको थियो ।

विश्वकपमा हालसम्म यी दुई टिम १० पटक एकआपसमा भिडेका छन् । जसमा इंग्ल्याण्डले ६ र श्रीलंकाले ४ खेलमा जीत हासिल गरेको छ । वान डे क्रिकेटमा भने अहिलेसम्म इंग्ल्याण्ड–श्रीलंकाबीच ७४ पटक खेल भएको छ । जसमा इंग्लिश टिमले ३६ र श्रीलंकाले ३५ खेलमा जीत हात पारेको छ । यस्तै २ खेल नतिजाविहीन र एक खेल टाई भएको छ ।

श्रीलंका प्लेइङ ११ः दिमुथ करुणारत्ने (कप्तान), धनन्जय डि सिल्भा, नुवान प्रदीप, अभिश्का फर्नान्डो, लासिथ मालिंगा, एन्जेलो म्याथ्युज, कुशल मेन्डिस, कुशल परेरा, थिसरा परेरा, इसुरु उडना र जीवन मेन्डिस ।

इंग्ल्याण्ड प्लेइङ ११ः इओन मोर्गन (कप्तान), जोनी बेरिस्टो, जो रुट, बेन स्टोक्स, क्रिस वोक्स, जेम्स भिन्स,  मोइन अली, जोस बटलर, आदिल रशिद,  मार्क उड र जोफ्रा आर्चर ।

कमेन्ट गर्नुहोस्