योग शिक्षा पाठ्यक्रममै आवश्यक छः उपराष्ट्रपति

काठमाडौं, असार ७ । उपराष्ट्रपति नन्दबहादुर पुनले योग शिक्षा आवश्यक रहेको बताएका छन् । शैक्षिक पाठ्यक्रममा नै समावेश गर्ने गरी योग शिक्षालाई औपचारिक र अनौपचारिक हिसाबले प्रचलनमा ल्याउनु आवश्यक रहेको उनको भनाइ छ ।पाँचौँ विश्व योग दिवसको अवसरमा पतञ्जली योग समिति चितवनले शुक्रबार जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा आयोजना गरेको योग शिविर उद्घाटन गर्दै उनले सबै वर्ग, समुदायका मानिसलाई योग आवश्यक रहेको बताए ।

शारीरिक तथा मानसिक रूपमै स्वस्थ जीवनयापन गर्न योग शिक्षा महत्वपूर्ण रहेको भन्दै उपराष्ट्रपति पुनले भने, ‘बदलिँदो आधुनिकीकरणको समयमा योग शिक्षा अपरिहार्य छ ।’ मानिसहरूको रहनसहन, खानपान र तनावपूर्ण जीवनशैलीको व्यवस्थापन गर्न योग आवश्यक रहेको उनले बताए । मानिसमा खानपान, हिँडडुलजस्ता जीवनशैली विलासीतातर्फ उन्मुख भइरहेको भन्दै उनले विलासी जीवन जिउनेहरूले नै योगलाई अपनाउनुपर्ने बताए । यसै कार्यक्रममा सहभागी हुन बिहीबार चितवन आएका उनी शुक्रबार बिहान ५ बजे योग अभ्यास सुरु गरी दिउँसो काठमाडौं फर्किएका हुन् ।

कार्यक्रममा नेकपा प्रदेश ३ का अध्यक्ष नारायण दाहाल, प्रदेश सांसद रीना गुरुङ, प्रजिअ जितेन्द्र बस्नेत, पूर्वडिआइजी ज्ञानेन्द्रविक्रम महतलगायत अन्य सर्वसाधारण उपस्थित थिए । संयुक्त राष्ट्रसंघको आह्वानमा २१ जुनलाई विश्वभर योग दिवसका रूपमा मनाउन थालिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

कमेन्ट गर्नुहोस्