रेशम चौधरीको खुट्टामा नेल लगाउने कर्मचारीलाई कारबाही गर्न प्रधानमन्त्रीले दिए निर्देशन

काठमाडौं, असार ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले टीकापुर हत्याकाण्ड घटाएको अभियोगमा कैद भोगिरहेका रेशम चौधरीको खुट्टामा फलामको नेल लगाउनेलाई कारबाही गर्न निर्देशन दिएका छन् । वीर अस्पतालमा उपचाररत बन्दी चौधरीको खुट्टामा फलामको नेल लगाइएको घटनाप्रति प्रधानमन्त्री ओलीले चासो दिएका हुन् ।

प्रधानमन्त्री ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई फोन गरेर चौधरीको खुट्टामा नेल लगाउनेहरुलाई तत्काल कारवाही गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राजपाबाट निर्वाचित सांसदसमेत रहेका चौधरीलाई मेरुदण्डमा समस्या आएपछि वीर अस्पताल भर्ना गरिएको थियो । अस्पतालको बेडमा उनको खुट्टामा १४ किलोको फलामको नेलले बाँधेर राखिएको थियो ।

चौधरीमाथि राज्यले गरेको अमानवीय व्यवहारप्रति सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो । समाजवादी पार्टी र राजपा का नेताहरुले पनि यो घटनाबारे आपत्ति जनाएका थिए ।समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चौधरीलाई अस्पतालमै गएर भेटेका थिए ।

कमेन्ट गर्नुहोस्