विश्वकपः न्यूजिल्याण्डद्वारा वेस्ट इन्डिजलाई २९२ रनको लक्ष्य

काठमाडौं, असार ७ । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले वेस्ट इन्डिजलाई २९२ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९१ रन बनायो । उसका लागि कप्तान केन विलियम्सनले शतकीय पारी खेले । उनले १ छक्का र १४ चौकाको मद्दतमा १५४ बलमा १४८ रन बनाए ।

यस्तै रस टेलरले ६९, जेम्स नीशमले २८, कोलिन डी ग्राण्डहोमले १६, टम लाथमले १२, मिचेल साट्नरले १० रनको योगदान दिए । बलिङमा वेस्ट इन्डिजका सेल्डन कोट्रेलले १० ओभरमा ५६ रन दिएर ४ विकेट लिए । यस्तै कार्लोस ब्रेथवेट २ र क्रिस गेलको नाममा १ विकेट रह्यो ।

पहिलो ओभरमै २ विकेट पतन
उत्कृष्ट लयमा देखिएको न्यूजिल्याण्डले वेस्ट इन्डिजविरुद्ध भने आज खराव सुरुवात गर्यो । उसले पहिलो ओभरमै महत्वपूर्ण २ विकेट गुमाउन पुग्यो । टस हारेर ब्याटिङको मौको पाएको न्यूजिल्याण्डले पहिलो बलमै पार्टिन गुप्टिल र पहिलो ओभरकै पाँचौ बलमा कोलिन मुनरोलाई गुमाएको हो । उनी दुवैलाई सेल्ड्रोन कोट्रेलले आउट गरेका हुन् ।

वेस्ट इन्डिज आजको खेल जित्नैपर्ने दबाबमा छ । उसले पाँच खेलमा ३ मा हार र एक खेलमा मात्र जीत हासिल गरेको छ । एक खेल भने वर्षाकाकारण रद्द भएको थियो । न्यूजिल्याण्ड यो संस्करणमा उत्कृष्ट लयमा देखिएको छ । उसले ५ खेलमा ४ मा जीत हासिल गरेको छ । भारत विरुद्धको खेलमा वर्षा बाधक बनेपछि अंक बाँडेका थिए ।

कमेन्ट गर्नुहोस्