विश्वकप क्रिकेटः अफगानिस्तानविरुद्ध भारतको रोमाञ्चक जित

काठमाडौं, असार ७ । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध भारत ११ रनले विजयी भएको छ । २२५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४९.५ ओभरमा अल आउट भयो । भारतको जीतमा तिव्र गतिका बलर मोहम्मद सामी नायक सावित भए । उनले आज ह्याट्रिक विकेट लिए । जारी विश्वकपमा ह्याट्रिक विकेट लिने सामी पहिलो बलर हुन् ।

अफगानिस्तानका लागि मोहम्मद सामीले ५२ रनको बनाए पनि टिमलाई जीत दिलाउन सकेनन् । यस्तै रहमत शाहले ३६, गुल्बिन्दन नाइबले २७, हसमतुल्लाह शाहिदी, नजिबुल्लाह जर्दानले २१–२१, राशिद खानले १४, हजरतुल्लाह जजाईले १० रन बनाए । बलिङमा मोहम्मद सामीले ४, जसप्रित बुमराह, युजवेन्द्र चहल र हार्दिक पाण्ड्याले २–२ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२४ रन बनायो । उसका लागि कप्तान विराट कोहलीले ६७, केदार जाधवे ५२, केएल राहुलले ३०, विजय शंकरले २९, महेन्द्रसिंह धोनीले २८, हार्दिक पाण्ड्याले ७ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक रनमा बनाउन सकेनन् ।

बलिङमा अफगानिस्तानका मोहम्मद नाबी, गुल्बिदन नाइबले २–२, मुजिव उर रहमान, राशिद खान, रहमत शाह र अफ्तव आलमले एक–एक विकेट लिए । जीतसँगै भारत अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

कमेन्ट गर्नुहोस्