जनताको जनवादमा सम्झौता नहुने, सचिवालय बैठक अघि नै प्रतिवेदन प्रकाशन गरिने

काठमाडौं, असार ८ । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)ले राजनीतिक प्रतिवेदनलाई प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ ।

शनिवार बसेका सचिवालय बैठकमा सामान्य छलफलपछि प्रतिवेदन तयारीको काम अघि बढेको हो ।

प्रतिवेदनलाई सामान्य भाषिक सुधार गरेर प्रकाशन गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए ।

“जे सहमति भएको हो, त्यही स्पिरिट अनुरुप अघि बढने निर्णय भएको छ ।’ उनले भने, ‘छलफल हुनु, बिभिन्न विचार देखा पर्नु स्वभाविकै भएपनि अब फरक विचारहरु पार्टी पद्दतीभित्र रहेर बहस हुन्छ ।’

पार्टी एकतापछि नेकपाले समाजवादउन्मुख जनताको जनवादलाई तत्कालको कार्यनीति मान्ने निर्णय गरेको छ । मस्यौदाका रुपमा तयार भएको प्रतिवेदन प्रकाशन भने हुन सकेको थिएन ।

शनिवारको बैठकमा दुबै अध्यक्षबीच असहमति भएको र विवाद चुलिएको आशयका समाचार सार्वजनिक भएपनि राजनीतिक प्रतिवेदनमा चर्चा गरिएजस्तो विवाद नभएको ती नेताले बताए । “बैठकमा बिभिन्न कोणबाट विचार प्रकट हुनु सामान्य हो । तर पार्टी एकता र पार्टीको मूल नीतिविरुद्ध सम्झौता नहुनेमा सबै स्पष्ट छन् । अब प्रतिवेदनलाई सामान्य सुधारसहित प्रकाशन गरिने छ ।”

समाजवाद उन्मुख राजनीतिक कार्यदिशा रहने गरी अन्य विषयमा सामान्य भाषिक परिमार्जनका लागि दुबै अध्यक्षले छलफल गर्ने र त्यसपछि प्रकाशन गरिने उनले बताए ।

प्रतिवेदन प्रकाशन भएपछि तल्लो कमिटिसम्म जाने र त्यसमा बहस शुरु हुने छ । राजनीतिक प्रतिवेदनले पार्टी एकता पूर्व दुबै पार्टीले अँगालेका राजनीतिक कार्यदिशालाई संश्लेषण गर्दै नेकपाको राजनीतिक कार्यक्रम समाजवादोन्मुख जनताको जनवाद रहने बताएको छ । यसअघि दुबै पार्टीका कार्यदिशा भने महाधिवेशनमा पुनः बहसमा जान सक्नेछन् । नेकपाभित्र एउटा पक्षले बहुदलीय जनवाद नै पार्टीको मुख्य कार्यदिशा रहनुपर्ने भन्दै प्रचारबाजी गरेपछि प्रतिवेदनलाई प्रकाशन गर्नुपर्ने दबाब परेको हो ।

जे कुरा पारित भयो, त्यो नै आधिकारिक कार्यदिशो हो, त्यसमा फरक मत भए पार्टी पद्धतीभित्र रहेर बहस गर्न सकिने देखिन्छ । पद्धतीबाहिर रहेर चर्चा बटुल्न र एकताको स्पिरिटमा नै प्रहार हुने किसिमले विवाद गर्दा पार्टी कमजोर हुन कुरा पार्टी अध्यक्ष प्रचण्डले समेत बताएका छन् ।

पार्टी अध्यक्ष प्रचण्डले पछिल्लो समयमा बिभिन्न कार्यक्रममा बोल्दै एकताको महान कार्यभार ऐतिहासिक रहेको, जनताले त्यसलाई अनुमोदन गरेकोले पार्टी एकताको मूल स्पिरिटप्रति सबैले प्रतिबद्ध रहनुपर्नेमा जोड दिँदै आएका छन् ।

समाजवाद उन्मुख जनताको जनवादले सबैखाले देशीविदेशी हस्तक्षेपविरुद्ध राष्ट्रियताको पक्षमा उभिने र सामाजिक न्यायसहितको समद्धिमार्फत समाजवादको आधार तयार पार्ने मुख्य राजनीतिक लाइन अघि सारेको छ । सोही समझदारी अनुरुप नेकपाको विधान २०७५ मा समेत पार्टीको न्यूनतम कार्यक्रम जनवाद नै रहने उल्लेख छ । “यस पार्टीको रणनीतिक लक्ष्य अर्थात अधिकतम कार्यक्रम वैज्ञानिक समाजवाद हो, न्यूनतम कार्यक्रम जनताको जनवाद होर यो समाजवाद उन्मुख छ ।” विधानमा उल्लेख छ, “यो पार्टी समाजमा रहेका सबैखाले शोषण, उत्पीडन र विभेदहरूको अन्त्य गर्दै मानव जातिको सबैभन्दा विकसित सामाजिक–आर्थिक व्यवस्था साम्यवादसम्म पुग्न सकिन्छ भन्ने विश्वास गर्दछ ।”

पार्टीमा विगतमा सहमति भइसकेको र विधानमा समेत उल्लेख भइसकेको विषयमा अहिले आएर अनावश्यक बहस सिर्जना नहुने मत सचिवालयको बैठकमा बलियो ढंगले उठेको बताइन्छ ।

शनिवारको बैठकमा प्रचार गरिएजस्तो दुबै अध्यक्षबीच विवाद चुलिएको विषय समेत गलत ढंगले प्रचार गरिएको ती नेताले बताए । यता प्रचण्ड सचिवालयले पनि सचिवालय बैठकपछि अध्यक्ष प्रचण्डले बेग्लै भेला या बैठक बोलाएर छलफल गरेको हल्ला गलत भएको बताएको छ । “अध्यक्षले पार्टी एकताको स्पिरिटका पक्षमा खुलेरै सबै कुरा राख्नु भएको छ ।’ सचिवालयले भन्यो, “बेग्लै छलफल र भेलाको अर्थ छैन । जे हो, त्यो कुरा घामजस्तै छर्लङ्ग छ । अध्यक्षले सबै पक्षसँग खुलेर छलफल गर्नुभएको छ । वहाँको मुख्य उद्देश्य पार्टी एकतालाई अझै मजबूत पार्ने र जनताको अपेक्षा अनुरुप पार्टी र संगठनलाई अघि बढाउने हो ।’

शनिवारको बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदा माधव नेपाललगायत पूर्व एमाले नेताहरुले समेत अहिले जबज या अन्य कुनै विषयमा बहस गर्नु पार्टी एकताको स्पिरिट विपरित भएको बताएका थिए । पार्टी एकता एउटा निश्चित समझदारीमा भएको र महाधिवेशनपूर्व कुनै व्यक्ति या व्यक्ति समूहले सहमतिविपरित जान नहुने उनीहरुको भनाई थियो । जनताको बहुदलीय जनवाद या माओवाद या एक्काइसौं शताब्दीको जनवादको विषय महाधिवेशनमा छलफलका लागि लैजानुपर्ने उनीहरुको जोड थियो ।

“जे सहमति भएको हो, त्यसमा टेकेर अघि बढौं । नयाँ परिस्थिति विकास भएको छ, त्यही अनुरुप विगतका कार्यक्रमको समीक्षा र संश्लेषण गरेर महाधिवेशनमा बहस गरौं । अहिले यो वा त्यो भनेर बहस गर्दा पार्टी एकता नै कमजोर हुन्छ । यसलाई (प्रतिवेदन) प्रकाशन गरौं र कार्यविभाजनतर्फ लागौं ।’ बैठकमा माधव नेपाल निकट एक सदस्यले भनेको श्रोतले बतायो ।

पार्टीको विधानमा स्प्ष्टरुपमा यो विषयलाई उल्लेख समेतगरिको छ । विधान विपरित जान नहुने मतमा सबै एकमत हुनैपर्ने कुरा नेता नेपाल पक्षधरहरुले उठाएको श्रोतले बतायो ।

विधानमा लेखिएको छ– “जनताको बहुदलीय जनवाद अवलम्बन गर्दै आएको नेकपा (एमाले) र माओवाद एवम् २१ औँ शताब्दीको जनवाद अवलम्बन गर्दै आएको नेकपा (माओवादी केन्द्र) बीचको एकताबाट निर्मित यो पार्टी संविधानको सर्वोच्चता, विधिको शासन, मानवअधिकार एवम् मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिहरूद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था, स्वतन्त्र न्यायपालिकालगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यतामा प्रतिबद्ध छ । यस पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हो। जनताको बहुदलीय जनवाद, एक्काइसौँ शताब्दीको जनवाद र माओवादका सम्बन्धमा आगामी महाधिवेशनसम्म विधिसम्मत छलफल गरी निष्कर्षमा पुगिनेछ ।

दुबै पार्टी अध्यक्षबीच सहमतिसँगै दस्तावेज प्रकाशन भएपछि सचिवालयको बैठक बस्ने र त्यसले पार्टी एकताका बाँकी कार्यभार पुरा गर्ने श्रोतले बतायो । नेकपाभित्र नेताहरुको कार्यविभाजन, पोलिटब्यूरोको गठन, विशेष जिल्ला र सम्पर्क समन्वय कमिटिको टुंगो लाग्न बाँकी नै छ । जिल्ला तहमा भने अधिकांश जिल्लामा एकता भइसकेको छ । जिल्ला इन्चार्जको निर्णय भने हुन सकेको छैन ।

कमेन्ट गर्नुहोस्