५० लाख रुपैयाँको सहयोगमा खस सङ्ग्रहालयको काम सुरु

असार ८ गते । सिन्जामा खस सङ्ग्रहालय बन्ने भएको छ । यहाँ खस सङ्ग्रहालय बनेपछि देश तथा विदेशबाट सिन्जा सभ्यता हेर्न आउनेलाई सजिलो हुने भएको छ ।

सिन्जा सङ्ग्रहालयका अभियन्ता डिल्लीप्रसाद तिवारी प्रसन्न हुनुहुन्छ । उनले भने, “यो सङ्ग्रहालयले यहाँ आउने पर्यटक र अनुसन्धानकर्ताहरूलाई सिन्जा सभ्यताको अध्ययन गर्ने अवसर दिने छ । ”

सिन्जा गाउँपालिका वडा नं. २ बिष्टबाडामा यो सङ्ग्रहालय निर्माण सुरु भएको छ । तत्कालीन समयमा विशाल साम्राज्य भएको सिन्जा सभ्यताका ऐतिहासिक तथा पुरातात्विक सम्पदा अहिलेसम्म ओझेलमा परेका थिए । पुरातात्विक सम्पदा विस्तृत रूपमा खोज अनुसन्धान हुन सकेको छैन । सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्यमा भने सिन्जा क्षेत्र पनि परेको छ ।

सङ्ग्रहालय शिलान्यास कार्यक्रम पनि विशेष प्रकारकै थियो । खस सभ्यता झल्किने गुन्यू–चोली, कालो कम्बल र गहनासँगै सजिएका स्थानीय महिलाले मागल गाएका थिए । पञ्चेबाजा बजाउँदै र कलश यात्राको कलाले प्राचीन सिन्जाको झल्को दिएको स्थानीय बताउँछन् । हुनपनि नेपाली भाषाको उद्गम स्थल तथा बहुप्रतिष्ठित सभ्यताको मुहान हो– सिन्जा । सिन्जा क्षेत्रमा सरकारद्वारा खस सङ्ग्रहालय निर्माण कार्य आरम्भ हुँदा स्थानीय खुसी छन् ।

सिन्जा सभ्यताका ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक सम्पदा झल्किने तथा पर्यटकका लागि अवलोकन केन्द्रका रूपमा सङ्ग्रहालय लामो समयदेखि माग भइरहेको थियो । नेपाल सरकार उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयको ५० लाख रुपियाँको सहयोगमा खस सङ्ग्रहालयको काम सुरु भएको हो । सिन्जा सभ्यता खस सङ्ग्रहालय निर्माण उपभोक्ता समितिका अध्यक्ष देवीकृष्ण तिवारी भन्छन्, “अब यो क्षेत्रमा पर्यटकीय पूर्वाधार बन्ने छ । ”

गाउँपालिका अध्यक्ष देवलसिंह रावलले भने, “सरकारले सुरु गरेको सङ्ग्रहालय बनाउने काम निकै राम्रो भएपनि बजेट कम भयो तर पछि थपिँदै जाने विश्वास छ ।” राष्ट्रिय अभिलेखालयमा सूचीकृत जुम्ला जिल्लाका ३३ वटा सम्पदामध्ये १३औं शताब्दीको चारवटा ऐतिहासिक देवलसहित विभिन्न आठवटा सम्पदा रहेको सिन्जा गाउँपालिका अध्यक्ष रावलले जानकारी दिए ।

सिन्जा गाउँपालिका सो क्षेत्रमा पर्ने वडा नं. २ का अध्यक्ष नवीन शर्माले सङ्ग्रहालय स्थापनापछि पर्यटकका लागि सिन्जा सभ्यता झल्काउने पूर्वाधार जुटाउन लाग्नुपर्ने बताए । सङ्ग्रहालयको दुई दिनअघि औपचारिक कार्यक्रममा शिलान्यास गरियो । सङ्ग्रहालय बनेसँगै पर्यटकलाई खाने–बस्ने व्यवस्था गर्न होमस्टे पनि सुरु भएको छ ।

गोर्खापत्रबाट

कमेन्ट गर्नुहोस्