काठमाडौंबाट छुटेको बस बर्दियामा दुर्घटना

काठमाडौं, असार ८ । काठमाडौंबाट बझाङका लागि छुटेको सुदूरपश्चिम यातायातको साइपाल डिलक्स बस बर्दियाको रम्भापुर नजिक आइतबार बिहान दुर्घटना हुँदा ३० जना भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भिर रहेको छ । प्रहरीका अनुसार घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

काठमाडौंबाट शनिबार बिहान ११ः३० बजे बझाङका लागि छुटेको ना६ख १३३९ नम्बरको बस बर्दियाको रम्भापुरमा आज बिहान ४ बजे दुर्घटना भएको सोही बसमा रहेका बझाङका राज बुढाले बताए । उनका अनुसार बस चालक सिकारु भएकाले दुर्घटना भएको हो । घाइतेहरुलाई नेपाल प्रहरी, नेपाली सेनाले उद्धार गरी अस्पताल पुर्याएको हो ।

काठमाडौंबाट बिहान ११ः ३० बजे छुटेको बस त्यसको भोलिपल्ट बेलुकी ४ बजे बझाङको सिमखेत बसपार्क पुग्ने गर्दछ । यसअघि पनि सोही बस नवलपरासीमा दुर्घटनामा परेको थियो । २०७३ साल जेठ ३ गते सोमबार उक्त बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटमा रोकिराखेको लु१ख ७७६८ नम्बरको ट्रकमा ठोक्किदा २० यात्रु घाइते भएका थिए ।

कमेन्ट गर्नुहोस्