विश्वकपमा न्यूजिल्याण्डकाे अर्को रोमाञ्चक जित

काठमाडौं, असार ८ । १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा वेस्ट इन्डिजलाई ५ रनले हराउँदै न्यूजिल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । न्यूजिल्याण्डले दिएको २९२ रनको मध्यम लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको वेस्ट इन्डिज ४९ ओभरमा २८६ रनमै समेटियो । उसका लागि कार्लोस ब्रेथवेटले शतक बनाए पनि टिमलाई जीत दिलाउन सकेनन् । उनले ५ छक्का र ९ चौकाको सहयोगमा ८२ बलमा १०१ रन बनाए ।

यस्तै क्रिस गेलले ८४ बलमा ८७, सिमरोन हिटमायरले ४५ बलमा ५४ रनको योगदान दिए । सेल्डन कोट्रेल १५, किमर रोच १४, साई होप, निकालेस पुरन, एश्ले नर्स १–१ रनमा आउट भए । बलिङमा न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले १० ओभरमा ३० रन दिएर ४ विकेट लिए । यस्तै लकि फग्र्युसनले ३, जेम्स नीशम, मिचेल सान्टनर र म्याट हेनरीले एक-एक विकेट लिए ।

यो हारसँगै वेस्ट इन्डिजको आगामी यात्रा निकै कठिन बनेको छ । उसले ६ खेलमा ४ मा हार र एक खेलमा मात्र जीत हासिल गर्न सफल भएको छ । यस्तै, एक खेलमा भने पानी परेपछि अंक बाँडिएको थियो । न्यूजिल्याण्डले भने ६ खेल मध्ये ५ मा जीत हात पारेको छ । भारतसँगको खेलमा वर्षा परेपछि अंक बाँडिएको थियो ।

कमेन्ट गर्नुहोस्