छोरी जन्मिए अब बैंक खाता

सिमकोट, असार ८ । कर्णाली प्रदेश सरकारले दश वटै जिल्लामा छोरी जन्मिएपछि एक हजारको बैंक खाता सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेटमा यस्तो कार्यक्रम ल्याए पछि नयाँ आर्थिक वर्ष सुरु भएपछि अब कर्णाली प्रदेशका जुन घरमा छोरी जन्मन्छन् ती सबैको प्रदेश सरकारले बैंक खाता संचालन गर्ने भएको हो ।

छोरी जन्मने बित्तिकै एक हजारको बैंक खाता र त्यसपछि २० वर्षसम्म प्रति महिना पाँच सयका दरले पैसा उक्त खातामा जम्मा गरिने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बताए । पार्टीको कामको शिलशिलामा हुम्लामा रहनु भएका मुख्यमन्त्री शाहीले आगामी वर्षको बजेटका बारेमा संचारकर्मीलाई जानकारी दिने क्रममा सो कुरा बताएका हुन् ।

कर्णालीमा बाल विवाह बढ्दो अवस्थामा रहेको र कानूनले बीस वर्ष पछि मात्रै विवाह गर्नु पर्ने नियम अनुसार यसलाई कार्यान्वयन गर्न पनि यो कार्यक्रम सहयोगी हुने मुख्यमन्त्री शाहीले बताए । अर्काको घरमा जाँदा अब छोरी रित्तै नभएर बीस वर्षसम्म सरकारले जम्मा गरेको तीन लाख रुपियाँ समेत लिएर घर जान पाउने उजले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्