बाढीले लमजुङ–मनाङ जोड्ने पुल बगायो

लमजुङ, असार ८ । हिमाली जिल्ला मनाङ जोड्ने म्यार्दी खोलामाथिको बेलिब्रिज बाढीले बगाएको छ ।

गत वर्षमात्रै निर्माण गरिएको पुल बगाएपछि मनाङसँग सडक सम्पर्क विच्छेद भएको छ । लमजुङ र मनाङ सिमानाको म्यार्दी खोलामा आइतबार दिउँसो एक्कासी आएको बाढीले म्यार्दीको पुल बगाएको स्थानीयले बताएका छन् । पुल बगाएपछि यात्रु अलपत्र परेका छन् ।

मनाङबाट बेंसीसहर आउँदै गरेका चीन घलेका अनुसार म्यार्दी खोलाले पुल बगाउँदा सवारी साधनहरू रोकिएका छन् । सडक निर्माण भएको एक दशकपछि हिमाली जिल्ला मनाङ जोड्न लमजुङ सीमा म्यार्दी खोलामा बेलिब्रिज निर्माण गरिएको थियो ।

यस्तै, तिमाङ खोलाको छहरेमा राखिएको हृयुमपाइप सहितको अस्थायी काठे पुल बगाउँदा तिमाङ क्षेत्रबाट सवारीसाधन तल्लो क्षेत्र आउन र माथिल्लो क्षेत्र जान सकेका छैनन् ।

मनाङका डीएसपी टीकाबहादुर कार्कीका अनुसार दिउँसो पौने २ बजेतिर पुल बगाएको हो । दुईवटा पुल बगाएपछि तत्कालका लागि आवतजावत बन्द भएको उनले बताए ।

लमजुङका प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले मनाङबाट बग्ने मर्स्याङदी नदीको बहाव साबिकको भन्दा बढ्दै आएकोले मर्स्याङदीतीरमा बस्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । पानीको बहाव बढ्दै गर्दा मर्स्याङदी नदी किनारमा नजान पनि उनले आग्रह गरे ।

कमेन्ट गर्नुहोस्