विश्वकप क्रिकेटः हरिस चम्किँदा दक्षिण अफ्रिकालाई बलियो लक्ष्य

काठमाडौं, असार ८ । इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले आफ्नो छैठौं खेलमा दक्षिण अफ्रिकालाई ३०९ रनको लक्ष्य दिएको छ । लड्स क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३०८ रन बनायो ।

उसका लागि हरिस सोहेलले उत्कृष्ट प्रदर्शन गरे । उनले ९ चौका र ३ छक्काको मद्दतमा ५९ बलमा ८९ रन बनाए । यस्तै बाबर आजमले ६९, फखर जमान, इमाम उल हकले ४४–४४, मोहम्मद अफीजले २०, इमाद वासिमले २३, वहाब रियाजले ४ रन बनाए ।

यस्तै कप्तान सरफराज अहमद २ र शादाब खान १ रनमा अविजित रहे । बलिङमा दक्षिण अफ्रिकाका लुंगि एन्गिडीले ३, इमरान ताहिरले २, एन्डिले फेहलक्वायो, लुंगि एन्गिडी र एडन मार्कले एक–एक विकेट लिए ।

ओपनर जोडी ४४–४४ रनमा आउट
ओपनर फखर जमान र इमाम उल हक ४४–४४ रनमा आउट भएका छन् । फखर १५.५ ओभरमा र इमाम २०.३ ओभरमा आउट भएका हुन् । उनी दुवैलाई इमरान ताहिरले आउट गर्न सफल भए । फखरले ६ चौका र १ चौकाको सहयोगमा ५० बलमा ४४ र इमामले ६ चौकाको मद्दतमा ५८ बलमा ४४ रन बनाएका हुन् । पाकिस्तानले आज प्लेइङ ११ मा २ खेलाडी परिर्वतन गरेको छ । उसले हसन अलि र सोयब मलिकको स्थानमा हरिस सोहेल र शाहीन शाह अफ्रिदिलाई मौका दिएको छ ।

दक्षिण अफ्रिकामा भने अघिल्लो प्लेइङ सेटलाई नै मैदान उतारेको छ । दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिसकेको छ । पाकिस्तानको पनि आगामी यात्रा निकै कठिन छ । उसले अबका सबै खेल जित्नैपर्ने हुन्छ । साथै पाकिस्तानले सेमिफाइनल पुग्न अन्य टिमको नतिजा पनि कुर्नुपर्ने हुन्छ । हालसम्म विश्वकपमा यी दुई टिमबीच ४ पटक खेल भएको छ । जसमा द. अफ्रिकाले ३ र पाकिस्तानले एक खेलमा मात्र जीत हासिल गरेको छ ।

पाकिस्तानको प्लेइङ ११ः सरफराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, शादाब खान, मोहम्मद हफीज,  शाहीन शाह अफ्रिदि, वहाब रियाज, मोहम्मद आमिर र  इमाद वसीम  ।

दक्षिण अफ्रीकाको प्लेइङ ११ः फाफ डु प्लेसिस (कप्तान), क्विन्टन डी कक (विकेटकीपर), एडेन मार्कम, हाशिम अमला, डेविड मिलर, कागिसो रबाडा,  एन्डिले फेकलक्वायो, इमरान ताहिर, लुंगी एन्गिडी, क्रिस मोरिस र रस्सी भान डर ड्युसन ।

कमेन्ट गर्नुहोस्