जोगियो मेस्सीको अर्जेन्टिना, कतारलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश

काठमाडौं, असार ९ । ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा समूह बी मा रहेको अर्जेन्टिनाले आमन्त्रित टिम कतारलाई २–० ले पराजित गरेको छ । यो जीतसँगै सुरुवातका दुई खेलमा खराब नतिजा हात पारेको कारण तनाव रहेको अर्जेन्टिना अघिल्लो चरणमासमेत पुग्न सफल भएको हो । अर्जेन्टिनाको जितमा लौतारो मार्टिनेज र सर्जियो अग्युरोले गोल गरे । चौथो मिनेटमा मार्टिनेजको गोलबाट अर्जेन्टिनाले सुरुवाति अग्रता लियो । ८२ औँ मिनेटमा अग्युरोले गोल गरेपछि अर्जेन्टिना २–० ले विजयी भयो ।

पहिलो खेलमा कोलम्बियासँग २–० ले पराजित भएको अर्जेन्टिना दोस्रो खेलमा भेनेजुयलासँग १–१ को बराबरीमा रोकिएको थियो । सुरुका दुई खेलको नतिजाले उसलाई अघिल्लो चरण पुग्न समस्या हुने अवस्था आएको थियो । तर समूहको अर्को खेलमा कोलम्बियाले पाराग्वेलाई १–० ले हराएपछि अर्जेन्टिनाको क्वाटरफाइनल यात्रा तय भएको हो । कोलम्बियाको जितमा ३१ औँ मिनेटमा गुस्ताभो कुएलारले गरेको गोल नै निर्णायक बन्यो ।

लगातार तीन खेलमा जित निकालेको कोलम्बिया समूह विजेता तथा एक खेलमा जित, एकमा बराबरी तथा एकमा हार बेहोरेको अर्जेन्टिना चार अंकसहित समूह उपविजेता बन्यो । दुई अंकसहित पाराग्वे तेस्रो स्थानमा रह्यो । अर्जेन्टिनाले अन्तिम ८ मा भेनेजुएलासँग प्रतिस्पर्धा गर्नेछ ।

कमेन्ट गर्नुहोस्