हाँस्य कलाकार जिग्री र पाँडेद्वारा तुइन चालक शुक्रबहादुरलाई नयाँ घर हस्तान्तरण

काठमाडौं, असार ९ । चर्चित हाँस्य कलाकार कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ ले ८० वर्षीय तुईन चालक शुक्रबहादुर चेपाङको नयाँ घर हस्तान्तरण गरेका छन् । धादिङ चरौदीस्थित त्रिशुली नदी किनारमा विगत २० वर्षदेखि उनले तुईन तान्दै आइरहेका थिए ।

आइतबार एक कार्यक्रमका बीच हाँस्य कलाकार जिग्री र पाँडेसहित मधुसुदन पाठक ‘सिते बा’, व्यवसायी हरि काफ्ले, नागरिक समूहका पदाधिकारीको उपस्थितिमा धादिङ रोराङ गाउपालिका वडा नं. ७ मा निर्माण गरिएको घर हस्तान्तरण गरिएको हो ।

सञ्चारकर्मी श्यामहरि शिवभक्तिको संयोजनमा स्वदेश तथा विदेशमा रहेका नेपालीको सहयोगमा उक्त घर निर्माण गरिएको हो। आजभन्दा ६ महिनाअघि उनले तुईन चलाउने बाजेको फिल्मी कुरा टिभीमा भिडियो रिपोर्टिङ गरेका थिए । चर्चित हाँस्य कलाकार जिग्री र पाँडेले शुक्रबहादुरको हातको नङ काट्दै नयाँ घरको चाबी दिएर घर हस्तान्तरण गरेका हुन् ।

समारोहलाई सम्बोधन गर्दै कलाकार अर्जुन घिमिरे ‘पाँडे’ ले भने, ‘शुक्रबहादुरको लागि यति राम्रो चिटिक्क परेको घर बन्नु खुसीको कुरा हो । अबदेखि त्रिशुली नदी किनारमा सुत्नुपर्ने दिन गए । तपाईले घर र आफूलाई सधैं सफा सुग्घर राख्नुहोला । छिमेकी दाजुभाईले शुक्रबहादुरको हेरविचार गरेर सहयोग गरिदिनुहोला ।’ यता जिग्रीले एउटा पूण्यको काममा सहभागी हुन पाउँदा अत्यन्तै खुशी लागेको बताए ।

शुक्रबहादुरले २० वर्षदेखि तुईन तारेर धेरै व्यक्तिलाई वारपार गराउनु पनि एउटा सामाजिक सेवा नै भएको जिग्रीको भनाई थियो । उनले सञ्चारकर्मी श्यामहरिलाई आगामी दिनमा पत्रकारितासँगै सामाजिक कार्यलाई पनि निरन्तरता दिन आग्रह गरे ।

उता शुक्रबहादुरले काठमाडौंदेखि कलाकार आएर घर हस्तान्तरण गरिदिँदा मनमा निकै खुशी लागेको बताए । उनले भने, ‘घर थिएन, जग्गा थिएन । अब त जग्गा पनि पाए, घर पनि पाए । म तुईन तान्दिन ।’ हाल उनीसँग एक छोरा बस्छन् । शारिरीक रुपमा अशक्त उनका छोरा बोल्न र सुन्न सक्दैनन् । सोही छोरा र आफ्नो जीविकोपार्जनको लागि उनले त्रिशुली नदीमा तुईन चलाउदै आएका थिए ।

घर निर्माणका लागि यूके निवासी गीता गुरुङ, साइप्रस निवासी कालिका थापा सेढाई, अष्ट्रिया रहने कुमार अधिकारी र दुबईमा बस्ने हरिचन्द्र गिरीले अभियान चलाएका थिए ।

कमेन्ट गर्नुहोस्