विश्वकप क्रिकेटमा उलटफेर भयो भने कसको सम्भावना कति ?

काठमाडौँ, असार ९ । इङ्ल्याण्ड र वेल्समा जारी विश्वकप क्रिकेटका आधाभन्दा बढी खेलहरू खेलिइसकेका छन् र प्रतियोगिता सुरु हुनुपूर्व प्रमुख दाबेदार भनिएको दक्षिण अफ्रिका जस्तो टीम बाहिरिने पक्का भइसकेको छ र निकै बलियो मानिएको टीम वेस्ट इन्डिजले पनि खासै गतिलो अनुभव हासिल गर्न सकिराखेको छैन । अंक तालिकाको पुछारमा रहेको अफगानिस्तानका लागि भने हालसम्मको अवस्था हेर्दा यो विश्वकप उपस्थिति अनुभव र उपस्थितिकै लागि मात्र होला जस्तो भएको छ ।

बाँकीका आठ टीममध्ये शीर्ष चार टीम सेमिफाइनल खेल्ने छन् । हालसम्म अंकतालिकाको शीर्ष चारमा रहेका टोलीको सम्भावना बलियो छ तर स्थितमा उलटफेर आएको खण्डमा तालिकामा तलतलबाट पछ्याइरहेका श्रीलंका, पाकिस्तान र बंगलादेशले पनि बाजी मर्न सक्ने सम्भावना अझै टरेको छैन ।

शीर्ष चारमा यस्तो 

सहभागी १० टीम मध्ये शीर्ष चार टोलीमा हालसम्म क्रमैले न्युजिल्याण्ड, अस्ट्रेलिया, भारत र इङ्ल्याण्ड रहेका छन् । न्युजिल्याण्डले हालसम्म ६ खेल खेलिसकेको छ जसमध्ये उसले पाँचमा जीत हासिल गरेको छ भने एक खेल वर्षाका कारण रोकिएकाले उसले अंक बाँड्नु परेको थियो । ऊ ११ अंकका साथ शीर्षमा छ ।

अस्ट्रेलियाले पनि ६ खेल खेलिसकेको छ जसमध्ये उसले एक खेलमा मात्र हार व्यहोरेको छ र १० अंकका साथ ऊ दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको भारतले ५ खेल खेलेको छ र ४ मा जीत हासिल गरेको छ । न्युजिल्याण्डविरुद्ध उसको खेल वर्षाका कारण रोकिएको हुँदा उसले अंक साझा गर्नु परेको थियो र अहिले उसकहाँ ९ अंक रहेको छ ।

चौथो स्थानमा रहेको घरेलु टोली इङ्ल्याण्डले ६ खेलमा ४ मा जीत र २ मा हार व्यहोरेको छ र उसको ८ अंक रहेको छ । यदि अंक तालिकामा स्थान यही रहने हो भने यी चार टोलीले नै सेमी फाइनल खेल्ने पक्का छ तर पछिल्लो समय हुँदै गरेका अप्रत्याशित उलटफेरले अन्तिम समयसम्म अंक तालिकाको तस्बिर अर्कै हुनसक्ने देखाएको छ ।

दाबेदारको बिदाइ

दुई हप्ता अगाडिसम्म्ज यस विश्वकपको सबैभन्दा सशक्त दाबेदार दक्षिण अफ्रिकालाई बताइंदै आएको थियो । तर आफूले खेलेका सात खेलमध्ये एकमा मात्र जीत हासिल गरेर उसले आफ्ना प्रशंसकहरूलाई निराश तुल्याएर घरको बाटो सोझ्याइसकेको छ ।

हालसम्म चार खेलहरू निकै अप्रत्याशित नतिजा दिएर गए । यीमध्ये श्रीलंका र पाकिस्तानद्वारा इङ्ल्याण्डलाई हराउनु र बंगलादेशद्वारा दक्षिण अफ्रिका र वेस्ट इण्डिजलाई हराउनु र अफगानिस्तानद्वारा भारतलाई आच्छु आच्छु पार्नुले क्रिकेट टीमको वास्तविक पहिचान तथ्यहरूले भन्दा पनि मैदानमा तत्काल आएका चुनौतीहरूले गराउने प्रष्ट पारेका छन् ।

यो विश्वकप राउण्ड रोबिन पद्धतिमा खेलाइँदै छ जसमा हरेक टीमले हरेक टीमसँग खेल्नुपर्ने हुन्छ । यस्तोमा हरेक टीमले ९ वटा खेल खेलेर अंकतालिकामा अत्यधिक अंक ल्याउनु पर्ने हुन्छ । अझै यस तालिकामा रहिराख्न शीर्षमा रहेको न्युजिल्याण्डले पनि कम्तिमा पनि एक खेल जित्नुपर्ने हुन्छ र उसले अझै ३ खेल खेल्नुपर्ने छ त्यो पनि पाकिस्तान, अस्ट्रेलिया र इङ्ल्याण्डविरुद्ध ।

त्यस्तै अस्ट्रेलियाले पनि ३ मध्ये एक खेल जिते उसको सेमिफाइनल यात्रा पक्का हुनेछ । उसले न्युजिल्याण्ड, दक्षिण अफ्रिका र अस्ट्रेलियाविरुद्ध खेल्न बाँकी छ ।

भारतले भने अझै दुई खेल जित्नु पर्नेछ । उसले चार खेल खेल्न बाँकी छ र उसको वेस्ट इण्डिज, श्रीलंका, इङ्ल्याण्ड र बंगलादेशविरुद्धको खेल बाँकी छ ।

त्यस्तै इङ्ल्याण्डले पनि ३ मध्ये दुई खेल जित्नु अनिवार्य छ । र उसका सामु अब अस्ट्रेलिया भारत र न्युजिल्याण्ड जस्ता टीम छन् ।

यी तीन देशहरूले भने जस्तो खेल जिते भने सेमीफाइनलमा स्थान पक्का छ तर कदाचित उनीहरू अबका सबै खेल हारे भने प्रतियोगितामा समीकरण नै बदलिने सम्भावना छ ।

के हुन्छ यदि यस्तो भएन भने?

माथि उल्लेख गरिएका चार टोलीले अबका खेलहरू भनेजस्तै जित्लान भन्ने छैन । एक त क्रिकेटको अनिश्चतता छँदैछ अर्कोतिर इङ्ल्याण्डको मौसम छ जसले कुनै पनि खेलमा प्रतिस्पर्धी टीमहरूलाई अंक बाँड्न बाध्य पार्न सक्छ । यसो हुन गयो भने सबैभन्दा बढी जोखिममा भारत र घरेलु टीम इङ्ल्याण्ड रहेका छन् । यदि इङ्ल्याण्डले ३ मध्ये एक खेल हारेर एकको अंक बाँड्नु पर्यो भने त्यस्तो बेला उसले श्रीलंका, पाकिस्तान र बंगलादेशले कमसेकम दुई खेल हारुन भन्ने कामना गर्नु पर्ने हुन्छ किन भने यसो नभएको खण्डमा अहिले अंकतालिकाको मध्यमा संघर्षरत टीमहरू माथि आउने सम्भावना रहन्छ ।

पाकिस्तान श्रीलंका र बंगलादेशको स्थिति

पाकिस्तान अहिलेको अंक तालिकामा सातौँ स्थानमा रहेको छ र उसले खेलेका ६ खेलमा २ मा मात्रै जीत हासिल गरेको छ । श्रीलंकाविरुद्धको खेल बराबरीमा टुंगिएका कारण ऊसँग ५ अंक रहेका छन् । अब उसले खेल्न बाँकी ३ खेलमध्ये सबैमा जीत हासिल गरेको खण्डमा उसका ११ अंक हुनेछन् र इङ्ल्याण्ड यथास्थानमा समेटिएको खण्डमा उसले सेमिफाइनलमा घरेलु टोलीलाई विस्थापित गर्नेछ ।

 

राउण्ड रोबिन प्रणालीमै खेलाइएको सन् १९९२ को विश्वकपमा पनि पाकिस्तानको सुरुवात खासै गतिलो रहेको थिएन । वेस्ट इन्डिजविरुद्ध पहिलो खेल हारेको पाकिस्तानले जिम्बाब्वेलाई हराएर प्रदर्शनमा केही सुधार गर्न खोजे पनि अगाडि उसको अनुभव राम्रो रहेन ।

इङ्ल्याण्डसँग खेल रद्द हुनु र त्यसपछि लगातार भारत र दक्षिण अफ्रिकासँग हारेपछि ऊ निकै रक्षात्मक अवस्थामा पुगिसकेको थियो । तर त्यसपछि आक्रामक ढङ्गले प्रतियोगितामा फर्किएको उसले अस्ट्रेलिया र न्युजिल्याण्डलाई मात्र हराएन नेट रङरेटका आधारमा वेस्टइन्डिज र अस्ट्रेलियाको सेमीफैनलमा पुग्ने सपनालाई समेत धुलिसात पारिदियो ।

तर त्यसबेलाको पाकिस्तानसँग कप्तानको रूपमा इमरान खान थिए र टीममा थिए वसीम अक्रम, जावेद मियाँदाद, इल्जमाम उल हक, अमिज राजा र आमेर सोहेल जस्ता स्टार खेलाडी । त्यसैले सेमी फाइनलपछि उसले पछाडि फरेर हेर्नु परेन र फाइनलमा ग्राहम गूचको नेतृत्वमा रहेको इङ्ल्याण्डलाई हराएर विश्व च्याम्पियन बनेको थियो ।

तर यस पटक पाकिस्तानको सम्भावना उसको प्रदर्शनमा मात्र सीमित छैन यसका लागि इङल्याण्डले एकभन्दा बढी खेल जित्नु हुन्न र श्रीलंका र बंगलादेशले कमसेकम एक खेल हार्नु पर्ने हुन्छ ।

उता श्रीलंका र बंगलादेशको गणित पनि कमोबेस यस्तै छ । तर सबैको आँखा आफ्नो जीतमा मात्रै नभएर इङ्ल्याण्डको हारमा पनि रहने छ ।

 

कमेन्ट गर्नुहोस्