बन्दमा विप्लवका ७ कार्यकर्ता पक्राउ

काठमाडौँ, असार १० । विप्लव समूहले आव्हान गरेको बन्दका क्रममा मंगलबार प्रहरीले  विभिन्न जिल्लाबाट ७ जना पक्राउ गरेको छ । यसका साथै प्रहरीले २० स्थानबाट शंकास्पद वस्तु फेला परेको समेत जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौं, कास्की, मकवानपुरबाट एक–एकजना र रुकुम पश्चिमबाट ४ जनालाई पक्राउ गरिएको हो । काठमाडौंको सुकेधाराबाट बा २ ज ३८१७ नम्बरको ट्याक्सीमा चन्द समूहको प्रचार सामग्रीसहित भागीराज राईलाई पक्राउ गरिएको छ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले ३ ठाउँमा ग्यास सिलिण्डर बम, २ स्थानमा सकेट, ४ ठाउँमा प्रेसरकुकर बम निष्क्रिय पारिएको बताए।

यसैगरी अर्घाखाँचीमा सुतली, कैलालीमा टाइम बम र झापामा आरसीआइडी बम निष्क्रिय पारिएको प्रवक्ता पोखरेलले बताए।

बन्दका क्रममा केही जिल्लामा सामान्य तोडफोड समेत भएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्