विश्वकपमा नयाँ-नयाँ कीर्तिमान बनाउने एसियाली खेलाडी

विश्वकप क्रिकेटको अंकतालिकाको शीर्ष चारमा न्युजिल्याण्ड, अस्ट्रेलिया, भारत र इङ्ल्याण्ड कायम नै छन् तर एसियाली टीम बंगलादेश भने एक स्थान माथि उक्लिँदै पाँचौ स्थानमा पुगेको छ ।

उता बंगलादेशले विश्वकपको ३१ औं खलमा अफगानिस्तानलाई ६२ रनले हरायो । सोमवार भएको उक्त खेलमा बंगलादेशी अलराउण्डर शकिब अल हसनको प्रदर्शनले अफगानिस्तानलाई खेलमा टिक्ने दिएन ।

शाकिबको प्रदर्शनले इङ्ल्याण्डको सेमीफाइनल योजना तुहाउन सक्ने तथ्यहरूले देखाएका छन् । पाकिस्तानविरुद्ध बंगलादेशको खेल निकै संघर्षपूर्ण हुनेछ । दुवै टीम जित्नै पर्ने बाध्यतामा रहेका बेला यदि बंगलादेशले बाजी मार्छ भने एक पनि हार इङ्ल्याण्डलाई घातक हुन सक्छ ।

चौथो स्थानमा रहेको इङ्ल्याण्डले तीन खेल खेल्न बाँकी छ । जसमध्ये अस्ट्रेलियाविरुद्ध उसको खेल मंगलबार हुँदैछ । यदि उसले यो खेल हारेमा उसले अगिल्ला दुई खेल भारत (३० जुन) र न्युजिल्याण्ड (३ जुलाई) विरुद्ध खेल्नु पर्नेछ । निकै चुनौतिपूर्ण हुने यी खेलहरूमा उसले सफलता हासिल नगरे उसको सेमिफाइनल यात्रा बाधित हुन सक्छ ।

शाकिब विश्वकपकै हीरो 

शाकिबले अफगानिस्तानविरुद्ध खेलमा अर्ध शतक लगाउनुका साथै ५ विकेट पनि झारे । धेरैले शाकिबको यस प्रदर्शनलाई १९८३ को विश्वकपमा तत्कालीन भारतीय कप्तान कपिल देवको प्रदर्शनसँग गरिराखेका छन् ।

#CWC2019,

अफगानिस्तान कमजोर मानिएको भए पनि भारतविरुद्ध उसले प्रदर्शित गरेको उत्कृष्ट क्रिकेटले उसलाई कम आकलन गर्न नमिल्ने धेरैको मत रहेको छ ।

शाकिब जारी विश्वकपमा निकै राम्रो फर्ममा रहेका छन् र उनले नयाँ नयाँ कीर्तिमान पनि बनाएका छन् ।

जारी विश्वकपकै उत्कृष्ट बलिङ

शकिबले अफगानस्तानविरुद्ध बलिङ गर्ने क्रममा २९ रन खर्चेर ५ विकेट झारे । निर्धारित १० ओभर बलिङ् गरेका उनले २.९ को इकोनोमी कायम राखेर जारी विश्वकपमा आजसम्मकै उत्कृष्ट बलिङ् गरे ।

शतक पनि विकेट पनि

शाकिब कुनै विश्वकपमा शतक लगाउने र एकै खेलमा पांच विकेट पनि लिने तेस्रा अलराउण्डर बनेका छन् । यस अघि भारतका कपिल देव (१९८३) र युवराज सिंह (२०११) ले यस्तो गरिसकेका छन् ।

एउटै खेलमा अर्ध शतक र ५ विकेट

युवराज सिंहले २०११ आयरल्याण्डविरुद्ध ३० रन खर्चेर ५ विकेट लिएका थिए र उनले अविजित रहेर ५ओ रन समेत बनाएका थिए । शाकिबले उनको बराबरी गरेका छन् । उनले सोमबारको खेलमा ५१ रन बनाए र ५ विकेट पनि लिए ।

विश्वकपमा ४०० बढी रन र १० बढी विकेट

शाकिब एउटै विश्वकपमा ४०० भन्दा बढी रन बनाउने र १० विकेट लिने पहिलो खेलाडी बनेका छन् । उनले हालसम्म ६ पारीमा ४७६ रन बनाइसकेका छन् र आजका मितिसम्म उनी जारी विश्वकपमा सबै भन्दा बढी रन बनाउने खेलाडी समेत रहेका छन् ।

विश्वकपमा एक हजार रन र ३० बढी विकेट

शाकिब विश्वकप प्रतियोगिताहरूमा एक हजार रन र ३० बढी विकेट लिने पहिलो खेलाडी पनि बनेका छन् । यस अघि श्रीलंकाका सनथ जयसूर्याले विश्वकपमा ११६५ रन बनाउनुका साथै २७ विकेट लिने रेकर्ड बनाएका थिए ।

हाल एकदिवसीय क्रिकेटमा विश्वका सर्वोत्कृष्ट अलराउण्डर रहेका शाकिब बंग्लादेशको तर्फबाट सर्वाधिक रन बनाउने खेलाडी समेत बनेका छन् ।

कमेन्ट गर्नुहोस्