फेदीखोला गाउँपालिकाको ३० करोडको बजेट सार्वजनिक

फेदीखोला, असार ११ । स्याङ्जाको फेदीखोला गाउँपालिकाले आगामी आव २०७६–०७७ का लागि ३० करोड २० लाख ३ हजारको बजेट सार्वजनिक गरेको छ ।

गाउँ सभामा मंगलबार गाउँपालिका उपाध्यक्ष देवी थापाले पुँजीगत तर्फ १३ करोड २२ लाख ६६ हजार विनियोजन प्रस्ताव गरिएको जानकारी दिइन् । चालुतर्फ नेपाल सरकारको सर्सत अनुदानबाट ११ करोड ८६ लाख र पालिकाको निर्सततर्फ ५ करोड ११ लाख गरी १६ करोड ९७ लाख ३७ हजार विनियोजन गरिएको छ ।

उपाध्यक्ष थापाका अनुसार अनुमानित खर्चमध्ये नेपाल सरकारबाट प्राप्त हुने समानीकरण अनुदान ७ करोड ५ लाख तथा सशर्त अनुदानतर्फ ११ करोड ८६ लाख रहेको छ । त्यसैगरी प्रदेश सरकारको समानिकरण अनुदानतर्फ १ करोड २० लाख ९४ हजार, समपुरक अनुदान १ करोड रहेको छ । राजस्व बाँडफाडबाट प्राप्त हुनेतर्फ संघीय सरकारको रु.४ करोड ५१ लाख, प्रदेश सरकारको १६ लाख १६ हजार, आन्तरिक आम्दानीतर्फ ७० लाख र बाँकी आन्तरिक मौज्दात लगायतबाट व्यहोरिने थापाले जानकारी दिइन् ।

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बिकासको पहिलो सुचक भनेको नै शिक्षा र भौतिक पूर्वाधार भएकाले गाउँपालिकाले यस बजेटमा उक्त दुई विधालाई महत्व दिएको बताए । ‘गाउँपालिकाको बिशेष पहलमा गण्डकी प्रदेश सरकारको महत्वपूर्ण योजना अन्र्तगत गाउँपालिकाको वडा नं. १ गुर्दुममा प्राविधिक महाविद्यालय बनाउन लागेकोले हामीहरु उत्साहित छौं ।’ गाउँपालिका अध्यक्ष सुवेदीको भनाई रहेको छ ‘शैक्षिक गुणस्तर सुधारेर गाउँपालिकालाई शिक्षामा अग्रणी बनाउने योजनामा हामी लागिपरेका छौं ।’

सुवेदीका अनुसार यसवर्ष कुल बजेटको ३६ प्रतिशतमात्र शिक्षालाई छुट्याइएको छ, जसअन्तर्गत शैक्षिक गुणस्तर र पुर्वाधार विकासको लागि १० करोड ४५ लाख ३३ हजार विनियोजन गरिएको हो । नयाँ आर्थिक वर्षबाट विद्यालयलाई पेपरलेस बनाउने उद्देश्य अनुरुप प्रत्येक विद्यालयमा शैक्षिक व्यवस्थापन प्रणाली सफ्टवेयर लागू गरिने र प्रत्येक शिक्षकलाई प्रविधिमैत्री र सफ्टवेयरमा निपूर्ण बनाउन ‘एक शिक्षक एक ल्यापटप’ कार्यक्रम सुरु गरिने छ । जसअन्र्तगत गाउँपालिकामा रहेका २६ वटा सामुदायिक विद्यालयका १५० शिक्षकलाई गाउँपालिका, विद्यालय र शिक्षकको साझेदारीमा ल्यापटप प्रदान गरिने छ । जसअन्र्तगत कुल रकमको ३० प्रतिशत अनुदान गाउँपालिकाले प्रदान गर्ने र ७० प्रतिशत विद्यालयले साझेदारी गर्ने छ ।

एकातिर वर्तमान पुस्ताका विद्यार्थीहरु प्रविधिप्रतिको लगाव र प्रविधिको अपरिहार्य आवश्यकता भने अर्कातिर पुरानै ढाँचाको अध्यापन शैलिले शैक्षिक गुणस्तरमा लगानी अनुसारको प्रतिफल आउन नसक्नु देशैभरका अधिकांश विद्यालयको साझा समस्या रहेको सुवेदीको भनाई छ । ‘शिक्षकका भाषण, प्रवचन, व्याख्या, वर्णन जस्ता शैक्षणिक विधिलाई विस्थापित गरी अब प्रत्येक कक्षाकोठामा ल्यापटपबाट पाठ्यक्रम सूची प्रस्तुत गरिने छ ।’ गाउँपालिकाले आफ्नो लगानीमा ८ वटा माध्यमिक विद्यालयमा वार्षिक २६ लाख खर्च गरेर दक्ष कम्प्युटर शिक्षकको व्यवस्था गर्दै आएको छ ।

महिनावारी स्वच्छन्दताको लागि गतवर्ष एक विद्यालयमा मात्र व्यवस्था गरिएको भेण्डिङ मेसिन अब प्रत्येक माध्यमिक विद्यालयमा व्यवस्था गरिने गाउँपालिकाले जनाएको छ । कालोपाटीलाई विस्थापित गरी प्रत्येक विद्यालयमा सेतोपाटीको व्यवस्था गरिने, विद्यार्थीका समस्या सुनुवाई गर्न विद्यार्थीसँग अध्यक्ष, विद्यार्थीलाई वातावरण संरक्षणप्रति दायित्व बोध गराउन एक विद्यालय एक नर्सरी करेसाबारी–एक विद्यार्थी एक फलफूल बिरुवा जस्ता कार्यक्रम शिक्षामा समेटिएका छन् ।

स्वास्थ्यतर्फ नयाँ आवमा रु २ करोड ३५ लाख ५२ हजार रकम विनियोजन गरेको छ । गाउँपालिकाले यसपटक गर्भवती महिलाको लागि मेडिक मोवाइल प्रविधिबाट नियमित स्वास्थ्य स्याहार तथा पोषण कार्यक्रम लागू गर्ने भएको छ । घरदैलोमा पुगी ज्येष्ठ नागरिक स्वास्थ्य स्याहार कार्यक्रम, प्रयोगशाला र विशेषज्ञसहितको घुम्ती स्वास्थ्य शिविर, विपन्न वर्गलाई निशुल्क स्वास्थ्य विमा, स्वास्थ्य बालबालिका प्रतियोगिता, स्वास्थ्य प्रयोगशालाको स्तरोन्नती, एम्बुलेन्स संचालन लगायतका कार्यक्रम रहेका छन् ।

यातायात पुर्वाधारतर्फ ६ करोड ६० लाख ५० हजार बजेट विनियोजन भएको छ, जसअन्र्तगत खड्केटारी–पञ्चासे–दोविल्ला सडक, कुभिण्डे मट्टिखान नुवाकोट, सर्केटारी गल्याम पञ्चासे सडक, फेदीखोला कालाभैरव नुवाकोट सडकको स्तनरोन्नती गर्ने गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी कृषितर्फ १ करोड ६० लाख ८० हजार बजेट विनियोजन भएको छ । गाउँपाालिकाका विभिन्न गाउँहरुलाई नमुना कृषि गाउँ बनाउने योजना अनुरुप एक घर एक टनेल, कागती पकेट क्षेत्र, तरकारी पकेट क्षेत्र, मकैको बीउ उत्पादन, नमुना युवा बाख्रा गाउँ, मौरी पकेट क्षेत्र, असारे आलु खेती प्रवद्र्धन लगायतका रहेका छन् । दुध, अण्डा र मासुमा आत्मनिर्भर बन्ने उद्देश्य अनुसार कृषकलाई प्रोत्साहन गर्ने गाउँपालिकाले जानकारी दिएको छ । कृषि प्रणालीलाई व्यवस्थित गर्न गाउँपालिकाका किसानलाई वर्गीकरण गरि कृषक परिचय पत्र वितरण गरिने नीति तथा योजनामा उल्लेख छ ।

कृषिको व्यवसायिकतामा जोड दिन गाउँपालिकामा हाइटेक नर्सरी स्थापना, कृषक उपज संकलन केन्द्र स्थापना गर्ने कार्यक्रम रहेका छन् । कृषि प्रविधि अन्र्तगत लिफिटिङ मार्फत सिचाइ, साना सिचाई कार्यक्रम रहेका छन् । गाउँपालिकाले विशेषतः युवाहरुलाई उद्यमी बनाएर रोजगारी सिर्जना गर्न ३५ लाख बढि बजेट छुट्याएको छ । फेदीखोला युवा रोजगार बैंक, युवा उद्यम कार्यक्रमले यसअघि नै सफलता पाइसकेको र थप निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले आफ्नो गौरवपूर्ण तथा दीर्घकालिन योजनाको रुपमा लिएको भालुपहाड एकीकृत विकास पर्यटन योजना सहित अन्य पर्यटनका विधालाई समेटेर ६८ लाख बजेट छुट्याइएको छ । विपन्न तथा दलित वर्गलाई लक्षित गरि लोकसेवा कक्षा संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । वातावरण तथा जलवायु, विपद व्यवस्थापन, सौर्य तथा विदुत उर्जा, प्रविधिमैत्री कार्यालय व्यवस्थापन, भाषा तथा संस्कृति जर्गेना बजेटका अन्य प्राथमिकता रहेका छन् ।

कमेन्ट गर्नुहोस्