सुदूरपश्चिमका १ सय ४२ स्थानमा सीसीटीभी जडान गर्दै प्रहरी

काठमाण्डौं,असार ११ । प्रहरीले शान्ति सुरक्षालाई नियाल्न स्थानीय तहसँग मिलेर मुलुकभर सीसीटीभी जडान गर्ने भएको छ । सडक दुर्घटना, समाजमा अपराध नियन्त्रण गर्न भन्दै प्रहरीले स्थानीय तहको समन्वय तथा सहयोगमा सीसीटीभी जडान प्रक्रिया अघि बढाएको हो । समुदाय प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत १५ सय ८९ वटा सीसीटीभी जडान गर्न लागिएको महानगरीय ट्राफिक महाशाखाका प्रमुख बसन्त पन्तले बताए । प्रहरीका अनुसार सातवटै प्रदेशमा सीसीटीभी जडान कार्यलाई तीव्र पारिएको छ ।

जस अन्तरगत सुदूरपश्चिम प्रदेशमा १ सय ४२, प्रदेश नम्बर १ मा २ सय ५, प्रदेश नम्बर २ मा १ सय ९१, प्रदेश नम्बर ३ मा १ सय ५, गण्डकी प्रदेशमा २ सय ८४, प्रदेश नम्बर ५ मा १ सय ९९, कर्णाली प्रदेशमा १ सय ६१ र महानगरीय प्रहरी कार्यालयअन्तर्गत ३ सय २ वटा सीसीटीभी जडान गरिँदै छ ।

२०७६ जेठसम्ममा विभिन्न संघसंस्था र समुदाय, प्रहरी तथा विभिन्न निकायबाट जडान गरिएका सीसीटीभीको संख्या ५ हजार ७ सय ८१ पुगिसकेको छ । जिल्ला, स्थानीय तह, वडा र टोल र विद्यालय गरी करिब १९ हजार २ सय २५ वटा साझेदारी समिति गठन गरेर अपराध न्यूनीकरण गर्ने र त्यसैअनुसार समुदायमा जनचेतना फैलाउने काम भइरहेको पनि प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।

हरप्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग साझेदारी गरी समाजमा अपराध न्यूनीकरण गर्ने लक्ष्य राखेको उनले बताए । २०७६ जेठसम्ममा प्रहरी सेवालाई प्रभावकारी बनाउन समुदायबाट २२ करोड ६५ लाख १६ रुपैयाँ बराबरको सहयोग प्राप्त भएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्