सक्षम र अनुशासित युवा जन्माउन खेलकुदको विकास गर्न आवश्यकः मन्त्री मगर

कञ्चनपुर, असार ११ । खानेपानी मन्त्री बिना मगरले नेपाली युवा खेलाडीको सही ढंगले संरक्षण र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएकी छिन् । कञ्चनपुरको महेन्द्रनगरमा महाकाली स्पोर्ट्स सोसाइटीले आयोजना गरेको प्रधानमन्त्री महिला कप टी–२० क्रिकेट प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले खेलाडीको संरक्षण र व्यवस्थापनमा सबैको ध्यान जानुपर्ने बताएकी हुन् ।

‘खेलले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउने भएकाले खेलाडीहरुको संरक्षण गर्नु जरुरी छ । खेल भनेको केबल मनोरञ्जनका लागि मात्रै होइन यसले युवाहरुमा आत्मविश्वास समेत जगाउँछ, कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘सक्षम र अनुशासित युवा जन्माउन खेलकुद क्षेत्रको विकास गर्नु अति आवश्यक छ ।’

याे पनि पढ्नुस  निर्मला हत्या प्रकरणः अनुसन्धानमा बाधा पुर्‍याउनेलाई निषेध गर्न निर्देशन

सुदूरपश्चिम क्षेत्रमा यसरी राष्ट्रिय स्तरको महिला क्रिकेट प्रतियोगिता हुनु आफैंमा महत्त्वपूर्ण उपलब्धि रहेको भन्दै यस किसिमको प्रतियोगिता निरन्तर हुनुपर्ने मन्त्री मगरले बताइन् । सुदूरपश्चिम क्षेत्रमा खेलकुदको विकासको लागि आफुले सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरिन् ।
सुदूरपश्चिम सरकारका उद्योग, वन तथा वातावरण, पर्यटन राज्य मन्त्री प्रकाश रावलले सुदूर पश्चिम क्षेत्रमा खेलकुदको विकासका लागि अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन गुरुयोजना तयार भैरहेको जानकारी दिए ।

याे पनि पढ्नुस  क्यानोनिङ खेलतर्फ युवा आकर्षण बढ्दो

असार ४ गतेदेखि सुरु भएको महिला क्रिकेट प्रतियोगिताको फाइनल खेल सशस्त्र प्रहरी टीम र सुदूरपश्चिम क्लब बीच भएको थियो । प्रतियोगितामा सशस्त्र प्रहरी टीमले सुदूर पश्चिमलाई ६ विकेटले पराजित गरेको थियो । सुदूर पश्चिमले २० ओभरमा ७१ रनमात्र बनाएको थियो । मन्त्री मगरले विजयी टीमलाई प्रमाणपत्र र पुरस्कार वितरण गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्