कोलिन र नीशमबीच शतकीय साझेदारी, पाकिस्तानले पायो २३८ रनको चुनौती

काठमाडौं, असार ११ । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत ३३ औं खेलमा न्यूजिल्याण्डले पाकिस्तानलाई २३८ रनको लक्ष्य दिएको टस जितेर पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २३७ रन बनायो । उसका लागि जेम्स नीशमले उत्कृष्ट प्रदर्शन गरे । संकटका समयमा प्रदान आएका उनले ३ छक्का र ५ चौकाको मद्दतमा ११२ बलमा नट आउट ९७ रन बनाए ।

यस्तै कोलिन डी ग्राण्डहोमले ६४, कप्तान केन विलियम्सनले ४१, कोलिन मुनरोले १२, मार्टिन गुप्टिलले ५, रस टेलरले ३, टम लाथमले १  र मिचेल सान्टनरले नट आउट ५ रनको योगदान दिए । बलिङमा शाहीन शाह अफ्रिदिले ३, मोहम्मद आमिर र शादाव आलमले एक–एक विकेट लिए ।

आज पनि खराब सुरुवात
पाकिस्तान विरुद्धको खेलमा पनि न्यूजिल्याण्डले खराब प्रदर्शन गर्यो । उसले १०० रन पूरा नगर्दै महत्वपूर्ण पाँच विकेट गुमायो । न्यूजिल्याण्डले पाँचौ विकेटका रुपमा कप्तान केन विलियम्सनलाई ४१ रनमा गुमाएको थियो । उनलाई शादाब खानले आउट गरे ।

न्यूजिल्याण्डले पहिलो विकेटका रुपमा दोस्रो ओभरको पहिलो बलमै पार्टिन गप्टिललाई ४ रनमा गुमायो । उनलाई मोहम्मद आमिरले आफ्नो पहिलो ओभरको पहिलो बलमै आउट गर्न सफल भए । यस्तै, न्यूजिल्याण्डले ६.२ ओभरमा अर्का ओपनर कोलिन मुनरोलाई १२ रनमा गुमाएको छ । उनलाई शाहीन शाह अफ्रिदिले क्याच आउट गराए ।

न्यूजिल्याण्डले तेस्रो विकेटका रुपमा अनुभवी ब्याट्सम्यान रस टेलरलाई ३ रनमै गुमाउन पुग्यो । उनलाई पनि अफ्रिदीले नै विकेटकीपर सरफराज अहमदबाट क्याच आउट गराए । चौथो विकेटकारुपमा न्यूजिल्याण्डले टम लाथमलाई गुमायो । उनी पनि अफ्रिदिको बलमा १ रनमै आउट भए । अफ्रिदिको खातामा आज तीन विकेट रह्यो ।

न्यूजिल्याण्डले आजको खेल जितेमा सेमिफाइनल पुग्ने छ । तर, हारेमा बाँकी रहेका दुई खेलमध्ये एक खेलमा जीत हात निकाल्नु पर्ने हुन्छ । पाकिस्तान भने आजको खेलमा जसरी पनि जीत हात पार्ने लक्ष्यमा छ । सेमिफाइनल यात्रालाई कायमै राख्नका लागि न्यूजिल्याण्डलाई उसले पराजित गर्नै पर्ने हुन्छ । यदि न्यूजिल्याण्डसँग हारेमा पाकिस्तानको विश्वकप यात्रा समाप्त हुनेछ ।

६ खेलबाट पाँच खेलमा जीत र एक खेलमा वर्षाको कारण अंक बाँडेको न्यूजिल्याण्ड ११ अंकका साथमा तालिकाको दोस्रो स्थानमा छ । यता, पाकिस्तान भने ६ खेलबाट दुई खेलमा जीत, तीन खेलमा हार र एक खेलमा वर्षाको कारण अंक बाँड्दै ५ अंकका साथमा लिगको सातौं स्थानमा छ ।

पाकिस्तानको प्लेइङ ११ः  सरफराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, हरिश सोहेल, मोहम्मद हफिज, इमाद वासिम, सादब खान, मोहम्मद आमिर, वाहब रियाज र शाहिन शाह अफ्रिदि ।

न्यूजिल्याण्डको प्लेइङ ११ः केन विलियम्सन (कप्तान), मार्टिन गुप्टिल, कोलिन मुनरो, रस टेलर, टम लाथम, जिम्मी निशाम, कोलिन डी ग्रान्डहोम, मिचेल सान्टनर, ट्रेट बोल्ट, म्याट हेनरी र लकी फर्गुसन ।

कमेन्ट गर्नुहोस्