पाकिस्तानका बाबरले तोडे भारतीय कप्तानको कीर्तिमान

काठमाडौं, असार १२ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत ३३औं खेलमा पाकिस्तानले न्यूजिल्याण्डलाई ६ विकेटले हराउँदै सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ । बुधबार राति बर्मिङ्घमा न्यूजिल्याण्डले दिएको २३८ रनको लक्ष्य पाकिस्तानले ४९.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । पाकिस्तानकाे जीतमा बाबर आजम नायक सावित भए । उनले ११ चौकाको मद्दतमा १२७ बलमा नट आउट १०१ रन बनाए । विश्वकपमा उनको पहिलो शतक हो ।

यो शतकसँगै बाबरले वान डे क्रिकेटमा ३ हजार रनसमेत पूरा गरेका छन् । साथै, उनले केही कीर्तिमान पनि आफ्नो नाममा लेखाउन सफल भए । न्यूजिल्याण्ड विरुद्धको खेलमा २९ रन बनाएसँगै बाबरले केही अनुभवी क्रिकेटरलाई पछि पार्दै नयाँ कीर्तिमान बनाएका हुन् । उनी एकदिवसीय क्रिकेटमा सर्बाधिक छिटो ३ हजार रन पूरा गर्ने पहिलो एसियाली क्रिकेटर बनेका छन् । यसक्रममा बाबरले विराट कोहली, महेन्द्रसिंह धोनी, सचिन तेन्दुलकरजस्ता चर्चित क्रिकेटरलाई पछि पारेका छन् । साथै उनी सर्बाधिक छिटो ३ हजार रन बनाउने पहिलो पाकिस्तानी क्रिकेट बनेका छन् ।

बाबरले यो उपलब्धि हासिल गर्न ६८ पारी खेलेका छन् । जसमा उनले ९ शतक र १४ अर्धशतक बनाए । विश्व क्रिकेटमा भने सबैभन्दा छिटो ३ हजार रन बनाउने सूचीमा दक्षिण अफ्रिकाका हाशिम आमलको नाम शीर्ष स्थानमा छ । उनले यो उपलब्धि ५७ पारीमा हासिल गरेका थिए । ३ हजार रन पूरा गर्न शिखर धवनले ७२ र विराट कोहलीले ७५ पारी खेलेका छन् ।

कमेन्ट गर्नुहोस्