एसईईकाे नतिजा सार्वजनिक गर्न २ बजे बाेर्डकाे बैठक बस्दै

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारीमा रहेको राष्ट्रिय परीक्षा बोर्डले बिहीबार दिउँसो २ बजे बैठक बोलाएको छ । नतिजा सार्वजनिक गर्नु अगाडि बोर्ड बैठक बस्नु पर्ने प्रावधान छ।राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणिपौडेलले आज २ बजे बोर्ड बैठक बोलाइएको बताए।

नतिजा प्रकाशन गर्ने सबै तयारी पूरा भइसकेको र बोर्डले निर्णय गरे आजै नतिजा प्रकाशन गरिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए। म‌ंगलबारकाे बोर्डको बैठकले नतिजा  प्रकाशनमा हतार नगर्न सुझाव दिएको थियो।

मुलुकभरबाट यो वर्ष ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए। चैत १० गतेदेखि एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो। यसपटक अनिवार्य विषयहरुको प्रश्नपत्र फरकरफरक बनाएर परीक्षा लिइएको हो।

नतिजा पनि प्रदेशअनुसार छुट्टाछुट्टै तर एकैपटक सार्वजनिक गर्ने तयारी छ। गतवर्ष असार ९ गते रिजल्ट भएको थियो। यसवर्षको परीक्षामा प्रदेश २ मा प्रश्नपत्र परीक्षा अगावै बाहिरिएर परीक्षा स्थगित हुँदा केही दिन ढिला हुन पुगेको हो।

कमेन्ट गर्नुहोस्