सरकारको कामको समीक्षा गर्नुपर्छः नेता रावल

अत्तरिया, असार १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सुदूरपश्चिम प्रदेश इन्चार्ज भीमबहादुर रावलले सरकारले आफ्ना काम कारवाहीको समीक्षा गरी अघि बढ्नुपर्ने बताएका छन् ।

नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले बिहीबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टीले सरकारका मन्त्रालयको काम कारवाहीको समीक्षा गर्नुपर्ने धारणा राखे ।
उनले पार्टीको सम्बन्धित निकायमा मन्त्रालयगत रूपमा सरकारका समग्र कामको मूल्यांकन र समीक्षा गरिएमा सरकारका मन्त्रिमण्डल फेरबदल गर्ने–नगर्ने बारेमा भन्न सकिने बताए ।

सरकार फेरबदलका विषयमा आफूलाई कुनै जानकारी नभएको भन्दै उनले आवश्यकताका आधारमा पार्टीले त्यस विषयमा गहन छलफल गर्ने उल्लेख गरे ।

उनले सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्ला कमिटीले पूर्णता पाइसकेको जानकारी गराउँदै ९ वटै जिल्ला कमिटीका पदाधिकारीको शपथ ग्रहण कार्यक्रमसमेत सम्पन्न भइइसकेकाले अब पार्टीका भातृ संगठनको एकीकरण कार्यलाई तीव्रता दिइने बताए । रासस

कमेन्ट गर्नुहोस्