फुलबारीको पञ्चोदयमा पढाई उत्सव

धनगढी, असार १२ । धनगढी उप–महानगरपालिका १४ स्थित पञ्चोदय माध्यमिक विद्यालयमा बिहीबार पढाई उत्सवको आयोजना गरिएको छ ।

राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तरगत पढाई उत्सवको आयोजना गरिएको हो । उत्सवमा बालमैत्री पढाई सामाग्री राखिएका छन् । प्रारम्भिक तहका बालबालिकाहरुलाई खेल तथा अभ्यासका माध्यमबाट सिकाउन थालिएको छ । पढाई उत्सव कार्यक्रमको उद्घाटन गर्दै धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बालबालिकाको मनोविज्ञानलाई बुझेर पठनपाठन गराउने विद्यालयले मात्रै सिकाई उपलब्धी हात पार्न सक्ने बताए ।

मानसिक दबाबमा राखेर सिकाउन खोजेमा त्यसले बाल मनोविज्ञानमा नकारात्मक प्रभाव पार्न सक्छ नगरप्रमुख वडले भने, त्यसैले धनगढी उप–महानगरपालिकाले विद्यालयका पूर्वाधार देखि शिक्षकहरुलाई वालमैत्री बनाउन यस्ता कार्यक्रमको आयोजना गर्दै लगिरहेको छ ।

धनगढी उप–महानगरपालिका वडा नं १४ का अध्यक्ष रामबजारी चौधरीले कितावी ज्ञानलाई मात्रै सिकाईको रुपमा लिन नहुने बताए । उनले भने, किताबका साथै अतिरिक्त ज्ञान पनि वालबालिकालाई दिनुपर्छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमका संयोजक राजेन्द्र रैकाले वालबालिकाहरुको पढाईमा सुधार ल्याउन धनगढी उप–महानगरपालिकाका २२ वटा विद्यालयमा राष्ट्रिय प्ररम्भीक कक्षा पढाई कार्यक्रम संचालन गरिएको बताए ।

कमेन्ट गर्नुहोस्