प्रधानमन्त्री रोजगार कार्यक्रम, ‘स्मार्ट बेरोजगार’ काम गर्नै मान्दैनन्

सिन्धुली, असार १३। कमलामाई नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गर्नै गाह्रो भएको छ । कमलामाई नगरपालिका–६ मा १७० जनाले फाराम भरेकोमा फोन गरेर रोजगार दिन्छौं भन्दा पनि कामदार पाइएको छैन । फाराम भरेकामध्ये सबैलाई फोन गर्दा ढुंगा, माटो र सिमेन्टमा काम गर्ने कामदार पाउनै नसकिएको रोजगार संयोजक अजय श्रेष्ठले बताए । उनका अनुसार कमलामाइ–६ मा १७ जना कामदार आवश्यक परेकोमा सोहीनुसार कामदार पाउन नसक्दा सात जनाले मात्र काम गरेका छन् । कमलामाई नगरपालिकाको वडा कार्यालयले उक्त कार्यक्रमका लागि तीनवटा योजना छनोट गरेको थियो । २ नं। बजारमा गणेश मन्दिरको पुनर्निर्माण, शान्तिनगर चोकमा सार्वजनिक धारा निर्माण र सिद्धस्थली बोर्डिङमा इनारको निर्माण । कामदार नपाएपछि दुईवटा योजना सञ्चालन हुन सकेका छैनन् भने सात जना कामदारले गणेश मन्दिरको पुनर्निर्माण गरेका छन् ।

बेरोजगार फाराम भर्नेहरूलाई  फोन गरेर काममा बोलाउँदा ‘लेवर र मिस्त्री बन्न भनेर फाराम भरेको हो र आउँदिन’  भनेर जवाफ दिने गरेको श्रेष्ठले बताए । कमलामाई नगरपालिका–६ मा तीनवटा योजनाका लागि १ लाख ९५ हजार ३९४ रुपैयाँ श्रमिक ज्यालामा बजेट छ ।

नगरपालिकाले अदक्ष कामदारका लागि ८ सय र दक्ष कामदारका लागि १ हजार १ सय रूपैयाँ ज्याला तोकेको छ । श्रेष्ठका अनुसार कमलामाई नगरपालिकाभित्र फाराम भर्नेहरू ‘स्मार्ट बेरोजगार’ भएकाले विकास निर्माणको काममा आउन मान्दैनन् । फाराम भरेकालाई फोन गर्दा कुनै न कुनै पेसा व्यवसायमा आबद्ध भएको पाइएको वडाध्यक्ष उज्जल थापाले बताए । उनले वडाका तीनवटा साना योजना पनि सम्पन्न गर्न गाह्रो भएको बताए । थापाले भने, ‘जागिरको आस गरेर फाराम भरेकालाई निर्माणमा ल्याउन सकिएको छैन ।’

कमलामाई नगरपालिकाका रोजगार संयोजक श्रेष्ठका अनुसार अरू वडामा पनि रोजगारीमा लगाउन समस्या भइरहेको छ । फाराम भर्ने बेलाको बुझाइ र अहिले काम पाउँदाको अवस्था फरक परेको छ । सरकारले अफिस, कार्यालयमा रोजगारी दिने आस गरेकाहरू अहिले काममा आउनै मानेका छैनन् । ‘कमलामाई नगरपालिकाभित्र असार मसान्तसम्मका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ७६ लाख बजेट विनियोजन भएको छ । यो समाचार आजको राजधानि दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्