को हुन् त महिलाहरुमाथि काँटी आक्रमणकारी ?

काठमाडौं, असार १३ । महिलाहरुमाथि श्रृखलाबद्ध रुपमा शंकास्पद ‘सिरिन्ज’ आक्रमण भएपछि धेरै मानिस त्रासमा परे ।

रोग सार्ने नियतले आक्रमण गरेको हुनसक्ने आशंकामा पीडित महिलाहरुलाई एआईभी विरुद्धको एआरटी औषधि चलाइएको छ भने हेपाटाइटिस विरुद्धको भ्याक्सिन दिइएको छ ।

आक्रणकारी पक्राउ नपर्दा पीडितहरु तथ तनावमा थिए । आक्रमणमा संलग्न रहेको आशंकामा सन्तोष कार्कीलाई प्रहरीले पक्राउ गरेको छ, उनले ढल्कु र पकनाजोल क्षेत्रको घटनामा आफ्नो संलग्नता स्वीकारेका छन् ।

उनले सिरिन्ज नभई सुरमा काठको सुइरो र पछि ढलान किलोले घोचेको बयान दिएका छन् । तर आक्रमण गर्नुको कारण भने ‘रमाइलो’का लागि भनेका छन् । उनको बयानलाई प्रहरी विश्वास गरिसकेको छैन र अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार उनी महाराजगञ्जमा होटल व्यवसाय गर्थे । राति १० बजे होटल बन्द गरेर मोटरसाइकलमा सोह्रखुट्टे, टंकेश्वर हुँदै नैकापस्थित कोठामा जान्थे । घर जाने क्रममा बाटोमा एक्लै भेटिएका महिलाहरुलाई आक्रमण गर्थे । घटनामा प्रयोग भएको बा ४७ प १३३१ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुल थापा भन्छन्, ‘उनले सुरुमा काठ र पछि काँटीले घोपेको हुँ भनेका छन् । यसबारे हामी थप अनुसन्धान गर्दैछौं ।’ अनलाइनखबरबाट

कमेन्ट गर्नुहोस्