पुनर्योगका लागि निवेदन

भक्तपुर, असार १४ । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा पुनर्योगका लागि निवेदन दिनेहरूको लर्को सुरु भएको छ । बिहीबार सार्वजनिक भएको २०७५ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजाप्रति चित्त नबुझाएकाहरूको लर्को आगामी १५ दिनसम्म देख्न पाइने छ ।

शुक्रबार पहिलो दिनमै करिब दुई सयले पुनर्योगका लागि निवेदन दिएका छन् । कतिपय परीक्षार्थीले आठमध्ये सातवटा विषयमा पुनर्योगका लागि निवेदन बुझाएका छन् । पुनर्योग गर्दा कतिपयको ग्रेड परिवर्तन पक्कै हुनेछ । यसले नतिजाप्रतिको असन्तुष्टिका साथै उत्तरपुस्तिका परीक्षणमा हुँदै आएको लापरबाहीलाई पनि प्रस्ट गर्दछ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले भने, “परीक्षककै लापरबाहीले परीक्षार्थीले दुःख पाएका हुन्, हामीहरूका कारण पुनर्योगका लागि निवेदन दिनुपरेको होइन । ” पुनर्योगपछि नतिजामा परिवर्तन हुने क्रम नयाँ होइन । गत २०७४ सालको एसईई परीक्षाको नतिजाप्रति चित्त नबुझाउँदै करिब नौ हजार परीक्षार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए । तीमध्ये ८२७ परीक्षार्थीको ग्रेड वृद्धि भएको थियो ।

गत वर्ष तीन पटकसम्म पुनर्योगको नतिजा सार्वजनिक गरिएको थियो । अनिवार्य अङ्ग्रेजीमा ९७, अनिवार्य नेपालीमा ६६, अनिवार्य गणितमा २५९, अनिवार्य सामाजिक शिक्षामा ६४ र अनिवार्य विज्ञान विषयमा १२१ परीक्षार्थीको नतिजामा परिवर्तन आएको थियो । त्यस्तै अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा, ऐच्छिक गणित, अर्थशास्त्र, लेखा, शिक्षा, जनसङ्ख्या शिक्षा, कम्प्युटर विज्ञान र स्वास्थ्य तथा शारीरिक शिक्षाका परीक्षार्थीको पनि नतिजा परिवर्तन भएको थियो ।

प्रतिविषय पाँच सय रुपियाँ लाग्ने र विद्यालयबाट पनि सिफारिस ल्याउनुपर्दा कतिपयले झन्झट ठान्ने हुँदा प्राप्त नतिजामै चित्त बुझाउँछन् । त्यसैले कतिपय नतिजाप्रति असन्तुष्ट हुँदाहुँदै पनि पुनर्योगका लागि निवेदन दिँदैनन् ।

अरूले गरेको लापरबाहीका लागि परीक्षार्थीले पुनर्योगका लागि शुल्क बुझाउनुपर्ने बाध्यता छ । गत वर्ष पुनर्योगबापत करिब ४५ लाख रुपियाँ राजस्व सङ्कलन भएको थियो । पुनर्योगका लागि शुक्रबार करिब दुई लाख रुपियाँ राजस्व उठेको छ । यो समाचार आजको गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।

कमेन्ट गर्नुहोस्