भारतीय स्वास्थ्य मन्त्रीको ठूलो निर्णयः सरकारी बैठकमा बिस्कुटको साटो भुजा, चना खानुपर्ने, प्लाष्टिक बोतलमा प्रतिबन्ध

नयाँ दिल्लीः भारतको मोदी सरकारले सरकारी अधिकारीहरुको बैठकमा बोतलको पानी पिउन नपाउने निर्णय गर्ने भएको छ ।
योसँगै सरकारी बैठकहरुमा बिस्कुटको साटो घरेलु नाश्ताका रुपमा भुजा या चना मात्रै खान पाइने निर्णय गरिएको छ ।

स्वास्थ्यका लागि हानिकारक भएको भन्दै बिस्कुटमा प्रतिबन्ध लगाईको भारतीय मिडियामा प्रकाशित समाचारमा उल्लेख छ । दैनिक अमरउजालाका अनुसार, सरकारी क्यान्टिनमा समेत स्वास्थ्यका लागि हानिकारक बिस्कुट बेच्न पाइने छैन ।

केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्री डा. हर्षबर्धनको पहलमा मन्त्रालयले यसबारेमा सर्कुलर नै जारी गरेको छ । यसमा प्लाष्टिकको बोतलको पानी पिउनु पनि हानिकारक भएकोले निकट भविष्यमा नै यसको प्रयोग पनि बन्द गर्ने बताइएको छ । प्लाष्टिकबाट प्रदुषण हुने भएकाले यसको विदाई गरिने उनले बताएका छन् ।
बिस्कुटको स्थानमा चना, खजूर, भुटेको चना, बदाम, ओखरलगायतका सामग्री खान सुझाव दिएको छ ।

हाल स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभाग र संस्थानका लागि यो नियम लागु भएको भएपनि तत्कालै सबै मन्त्रालय र मातहतका निकायमा पनि यो नियम लागु गरिने छ । एम्सलगायत देशका सबै राज्यका अस्पतालमा पनि बिस्कुटमाथि प्रतिबन्ध लाग्नेछ ।

कमेन्ट गर्नुहोस्