लेदोका कारणले गल्छीमा राजमार्ग ठप्प

धादिङ, असार १४ । वर्षाका कारण बगाएर ल्याएको बालुवा र लेदोका कारण शनिबार धादिङको गल्छी–बैरेनीमा राजमार्ग ठप्प भएको छ । गल्छीको गर्दुखोला देखि बैरेनीको महेशदोभानसम्म करिब डेढ किलोमिटर बालुवा र लेदो भरिएको छ ।

गत शुक्रबार पनि लेदोका कारण ११ घण्टा राजमार्ग अवरुद्ध भएको थियो । स्थानीय बालुवा व्यापारीले डोजर प्रयोग गरि बालुवा झिके पछि राजमार्ग संचालनमा आएको थियो । शनिबार पनि गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठको बालुवाखानी हुँदै आएको लेदो र रातोमाटोले बैरेनी महेशदोभान खोला पूरै भरिएको छ ।

राजमार्ग बिहानै देखि जाम भएको छ । लेदो हटाउने प्रयास भैरहेको बैरेनीस्थित प्रहरी चौकी इन्चार्ज सई जनक बस्नेतले बताए । यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको छ ।

कमेन्ट गर्नुहोस्