बैतडी दाेगडाकेदारले राख्याे यस्ताे रेकर्ड

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाका तीन वटा वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषित भएका छन् ।

वडा नं ८ कटौजपानीलाई शुक्रवार पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएसँगै वडाको संख्या ३ पुगेको छ ।

यसअघि अघिल्लो शुक्रबार दोगडाकेदार गाउँपालिकाको वडा नं ५ तथा गत वर्ष वडा नं ४ लाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएको थियो ।

वडाभरीका गर्भवती महिलाले गएको एक वर्ष यता स्वास्थ्य संस्थामै गएर सुरक्षित रुपमा बच्चा जन्माएकाले वडालाई घरमा हुने सुत्केरी शून्य वडा घोषणा गरिएको हो

गर्भवती आमाहरुले नेपाल सरकारको मापदण्डअनुसार चार पटक गर्भजाँच गरेको, टीटी खोप लगाएको, नियमित आइरन चक्की खाएकोलगायतका पूर्ण संस्थागत सुत्केरीका मापदण्डसमेत वडाले पूरा गरेका छन् ।

मातृ मृत्युदर र नवजात शिशु मृत्युदर घटाउने उद्देश्यले गाउँपालिकाले पूर्ण संस्थागत सुत्केरी अभियानलाई जारी राखेको दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले जानकारी दिइन ।

गाउँपालिकाले मातृ शिशु मृत्युदर घटाउने उद्देश्यले १ लाख ६० हजार रुपैयाँको मातृशिशु आकस्मिक कोष समेत स्थापना गरेको छ ।

Source: imagekhabar

कमेन्ट गर्नुहोस्