ईपीजी प्रतिवेदन बुझाउने वातावरण छिट्टै बन्छः प्रधानमन्त्री ओली

काठमाडौं, असार १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रबुद्ध व्यक्ति सम्मिलित समूह (ईपीजी)को प्रतिवेदन प्र्रस्तुतिको वातारण छिट्ट्रै तयार हुने बताएका छन् । परराष्ट्र मन्त्रालयले शनिबार काठमाडौंस्थित होटल मेरियटमा आयोजना गरेको ‘परराष्ट्र नीति सम्बन्धमा राष्ट्रिय संवाद’ कार्यक्रममा उनले दुवै देशका साच्चिकै प्रबुद्ध समूहले बनाएको प्रतिवेदनमा दुई देशीय समस्या, चासो, सरोकार सबै विषयहरू समेटिएकाले यसलाई जतिसक्दो चाँडो कार्यान्वयन गर्न आफू लागिपर्ने बताए ।

नेपाल र भारतबीच सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धि र त्यसयता भएका सबै असमान सन्धिसम्झौतालगायत द्विपक्षीय सम्बन्धका समग्र विषयलाई समेटेर सुझावसहितको प्रतिवेदन तयार गर्न कुनै समस्या नभएको प्र्रधानमन्त्री ओलीले बताए । अन्तर्राष्ट्रिय सम्बन्धमा राष्ट्रिय हित र न्याय दुवैलाई हेर्नुपर्ने बताउँदै उनले न्यायलाई बिर्सिएर अन्धो राष्ट्रिय हितका पक्षमा जान नहुने टिप्पणी गरे ।

ईपीजीले प्रशंसनीय काम गरेको भन्दै उनले प्रतिवेदनको प्रस्तुतिपछि त्यसमा उल्लिखित विषयलाई कार्यान्वयनको चरणमा लगिने जानकारी दिए । प्रधानमन्त्री ओलीले परराष्ट्र नीतिको केन्द्रमा राष्ट्रिय हित रहेको तथा संयुक्त राष्ट्रसंघको वडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिको मान्यतालाई नेपालले पूर्ण परिपालना गरिरहेको बताए । उनले अन्य देशले पनि त्यसै गरुन् भन्ने चाहेको पनि बताए ।

‘छिमेकीसँगको सम्बन्ध सङलिएको छ, थिति बसेको छ, हाम्रो सम्बन्धका थुप्रै विषयमा पुनरावलोकन भएका छन् र भइरहेका पनि छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘बहुपक्षीय एवं अन्तर्राष्ट्रिय मञ्चहरूमा छिमेकका सरकार प्रमुखसँग भएका औपचारिक एवं अनौपचारिक छलफल भइरहेको छ ।’ ‘कुनै पनि प्रकारका अतिरिक्त कुटनीतिक गतिविधिहरू कसैबाट नहोऊन् भन्ने हामी चाहन्छौं । हाम्रो स्वतन्त्रता र हाम्रो सार्वभौमसत्तामा खेदको अनुभव गर्नु नपरोस् । हेपिएको अनुभव गर्नु नपरोस्,’ उनले भने ।

त्यस्तै, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले संवेदनशील भूराजनीतिक अवस्थितिमा रहेको मुलुकको सन्दर्भमा राष्ट्रिय हित प्रवद्र्धनार्थ परराष्ट्र नीतिलाई उचित सावधानीका साथ कुशलतापूर्वक सञ्चालन गर्नु आवश्यक भएको बताए ।

उनले छिमेकीका चासोप्रति नेपाल पूर्ण संवेदनशील रहेको स्पष्ट पारे । घरेलु नीतिको विस्तारित रूप नै देशको परराष्ट्र नीति भएको बताउँदै बदलिँदो परिवेशमा राष्ट्रिय हित संरक्षण एवं प्रवद्र्धनका साथ कूटनीति सञ्चालन भइरहेको परराष्ट्र मन्त्री ज्ञवालीको भनाइ छ ।

परराष्ट्र सचिव शंकरदास वैरागीले बाहिरी विश्वसँग कुनै पनि मुलुकले राख्ने सम्बन्ध, त्यसको उद्देश्य र आधार सो मुलुकको परराष्ट्र नीतिद्वारा निर्देशित हुन्छ भन्दै अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि उजिल्याउन परराष्ट्र मन्त्रालय इमानदारीका साथ लागिपरेको बताए । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

कमेन्ट गर्नुहोस्