नेपाली संस्कृतिलाई हलिउडसँग जोड्दैछौं

काठमाडौं, असार १५ । यतिबेला अमेरिकाको राजधानी वासिङ्टन डिसी महानगर क्षेत्रको सिल्भर स्प्रिङमा नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो शृङ्खला जारी छ । शनिबार साँझबाट सुरु भएको महोत्सवमा नेपाली पानोरामाअन्तर्गत नेपाल र नेपाली परिवेशमा बनेका नेपाली तथा विदेशी निर्देशकका चलचित्र देखाइने छ भने अन्तर्राष्ट्रिय पानोरामाअन्तर्गत उत्कृष्ट अन्तर्राष्ट्रिय कथानक चलचित्र, वृत्तचित्र, लघुचलचित्र, एनिमेसनका चलचित्र महोत्सवमा देखाइने आयोजकले बताएका छन् ।

चलचित्र मार्फत नेपाली समुदायको कथा र कला संस्कृतिबारे जान्ने अवसर भएकाले महोत्सवमा सहभागी हुन आयोजकले आग्रह समेत गरेका छन्। यसै सन्दर्भमा यो महोत्सवबारे नेपाल–अमेरिका चलचित्र महोत्सवका निर्देशक पूर्णसिंह बराइलीसँग शिलापत्रका लागि गरिएको कुराकानीको सम्पादित अंशः

चलचित्र महोत्सव कस्तो हुँदैछ ?

नेपाली डायस्परालाई सिनेमामार्फत नेपाली कलासंस्कृतिलाई हलिउडसम्म जोड्ने उद्धेश्यले नै महोत्सवको आयोजना गरिएको हो । यो शृङ्खला पहिलेको तुलनामा निकै उत्साहजनक भयो । आफ्नो महत्वपूर्ण समय निकालेर पाहुनाहरु आएका छन् । शनिबार साँझ रेडकार्पेटसहित महोत्सवको उद्घाटन गरियो । अमेरिकाका लागि नेपाली राजदूत डा। अर्जुन कार्कीले डम्फु बजाएर महोत्सवको उद्घाटन गर्नुभयो । महोत्सव उत्साहजक रूपमा भइरहेको छ ।

महोत्सवको तेस्रो संस्करणमा खास नयाँ कुरा के छ ?
प्रत्येक वर्ष हामी नयाँ फिल्म र नयाँ उमंगसहित आएका हुन्छौं । महोत्सवको हरेक संस्करण नयाँ नै हुन्छ । अघिल्ला संस्करणमा प्रदर्शन भएका फिल्म देखाइँदैन । नयाँ–नयाँ फिल्म प्रदर्शन गरिन्छ । यो वर्षका लागि निकै राम्रा फिल्म छन् ।

महोत्सवको उद्घाटनमा विनोद पौडेलले निर्देशन गरेको ‘बुलबुल’ प्रदर्शन गरियो । चलचित्र हेरेपछि समिक्षा पनि भयो । त्यस्तै महोत्सवको समापन ‘कथा ७२’ बाट गरिँदै छ । नेपाली चलचित्रको बारेमा विभिन्न विषयमा छलफल सुरु भईसकेको छ।

महोत्सवमा कस्ता चलचित्र प्रदर्शन हुन्छन् ?
महोत्सवका आफ्नै किसिमका नियम हुन्छन् । हामीले महोत्सवमा फिल्म प्रदर्शनका लागि एक वर्ष पहिले नै आवेदन खुलाएका हुन्छौं । नेपाललगायत अन्य देशका फिल्मकर्मीले पनि आवेदन पठाएका हुन्छन् ।

महोत्सवमा देखाइने फिल्म युट्युबमा भेटिँदैन । अधिकांश फिल्म हलमा पनि प्रदर्शन भएका हुँदैनन् । किनभने वृत्तचित्र र छोटो फिल्म नै बढी हुन्छन् । जहाँ बढी कथानक फिल्म बढी देखाइन्छ । यो महोत्सव यस्तो थलो हो, जहाँ अरु बेला हेर्न नपाइने फिल्म देखाइन्छ । फिचर फिल्म पनि देखाइन्छ । त्यसैले महोत्सव दर्शकको लागि यो अवसर पनि हो ।

नेपाली चलचित्रको सहभागिता कस्तो छ ?

नेपाली फिल्म यस महोत्सवको प्रमुख आकर्षण हुन् । नेपालमा पनि पहिले फेस्टिभल गर्दा नेपाली फिल्म कम मात्रा आउँथे । अहिले नेपाली फिल्म संख्यात्मक रुपमा बढी नै छन् । फेस्टिभलका लागि नै भनेर फिल्म निर्माण हुन थालेका छन् । फेस्टिभलले मञ्च दिएको छ । नेपाली फिल्म मकेरलाई फिल्म निर्माण गर्न हौसला प्रदान गरेको छ । संख्यात्मक मात्रै होइन, गुणात्मक रुपमा वृद्धि भएको छ ।

नेपालबाट नविन सुब्बा, मिन बहादुर भाम, विनोद पौडेल, अविरल थापा लगायतका फिल्ममेकर आउनु भएको छ भने अन्य देशबाट पनि फिल्ममेकरको सहभागी उल्लेख्य छ।

चलचित्रको छनोट कसरी गरिएको छ रु र उत्कृष्ट कसरी घोषणा गरिन्छ ?

महोत्सवमा प्रदर्शनका लागि चलचित्र छनोट गर्न एउटा छनोट समिति बनाएका थियौं । नेपालसहित लगभग १२ सय चलचित्रहरुको आवेदन आएको थियो । झण्डै ४० हाराहारी चलचित्र छनौट गरेका छौं । विषेशगरी नेपाली कथाका चलचित्र छनौट गरिएको छ ।

फिल्मलाई उत्कृष्ट घोषणा गर्न निर्णायक मण्डल समिति बनाएका हुन्छौं । अन्य फिल्म महोत्सवमा पनि यही नियम लागू हुन्छ । यसमा पनि निर्णायक समिति बनाएका छौं ।

नेपालका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त निर्देशक मीनबहादुर भाम निर्णायक मण्डलको प्रमुख हुनुहुन्छ, त्यस्तै ल जोला फेसन फिल्म फेस्टिभलकी रेबेका बुस्टामिना र एमी अवार्ड विजेता समेत रहेकी लेखक तथा निर्मात्री मिमि मचाडो हुनुहुन्छ । फेस्टिभलको मानार्थ अध्यक्ष नविन सुब्बा हुनुहुन्छ ।
निर्णायकमा रहनेको पृष्ठभूमि फिल्म नै हुन्छ । महोत्सवमा देखाईएको उत्कृष्ट तीन विधाका चलचित्रलाई अवार्ड तथा सम्मान पनि गरिन्छ ।

अमेरिकामा फिल्म महोत्सव गर्ने सोच कसरी आयो ?

मेरो विधा नै फिल्म र मिडिया हो । नेपालमा जागरण मिडिया सेन्टर स्थापना गरेका थियौं । ‘दलन’ टेलिशृंखला निर्माण गर्यौं । जुन नेपाल मात्रै नभएर संसारका धेरै ठाउँमा रुचाइयो । त्यो प्रोजेक्टमा निर्माता र कलाकारका रुपमा काम गरेको थिएँ । साथै पत्रकारिता पनि गरें । नेपाल पत्रकार महासंघको ललितपुर शाखाको अध्यक्ष रुपमा काम गरें ।

फिल्मलाई पनि विकास र विस्तार गर्नुपर्छ भन्ने सोच थियो । नेपालमा निर्माण भइरहेका फिल्म भन्दा केही फरक गर्न सकिन्छ कि भनेर छलफल चल्थ्यो । नवीन सुब्बा, छिरिङ रितार शेर्पा, मीनबहादुर भाम, दीपक रौनियर, अरुणदेव जोशी, सचिन घिमिरेसँग फिल्मका विषय गफ हुन्थे । फिल्म विशुद्ध मनोरञ्जनको साधन मात्रै होइन । यो जीवन र जगतका विषयवस्तुसँग गाँसिएको हुन्छ ।

त्यसै सन्दर्भमा सन् २००९ मा नेपालमा मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सव स्थापना गरियो । जसको नेतृत्व मैले गरेको थिएँ । जुन नेपालमा ‘थिमेटिक फेस्टिभल’का रूपमा स्थापित नै छ ।

तेस्रो संस्करणपछि म अमेरिका आएँ । अमेरिका आइसकेपछि विभिन्न देशका प्लेटफर्म देखें । डायस्पोरामा निकै राम्रा काम गरेको देखियो । अफ्रिकन, कोरियन, फिलिपिन्स र इन्डियन डायस्पोरा निकै व्यापक छ । सहरमा इन्डियन फिल्म फेस्टिभल, कोरियन फिल्म फेस्टिभल, अमेरिकी फिल्म फेस्टिभल हुन्छन् । डायस्पोरा फिल्मबाट आफ्नो कला संस्कृतिलाई हलिउडसम्म जोडेको देखें ।

एउटा प्रयास गरौं न त भन्ने सोच आयो । त्यसपछि नेपाल–अमेरिका फिल्म सोसाइटीको स्थापना गरियो । जसको नेतृत्व मैले गरेको छु । नेपाली फिल्मलाई हलिउडसम्म जोड्ने माध्यम नै फिल्म महोत्सव बनेको छ । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सव नामकरण गरियो ।

अमेरिकामा चलचित्र महोत्सव आयोजना गर्न सहज छ ?

अमेरिका जस्तो मुलुकमा चलचित्र महोत्सव गर्न आफैंमा चुनौतीपूर्ण छ । मुख्य त समय व्यवस्थापन गर्न गाह्रो छ । आफ्नो अफिसियल कामबाट बचत गरेको समयमा निकालेर यस्ता कार्यक्रम गर्नुपर्ने हुन्छ । अर्को कुरा यहाँ महोत्सवमा आवश्यक सामग्री महंगो हुन्छ । त्यहि अनुसारको आर्थिक म्यानेज गर्नुपर्छ ।

तर आज हामी तेस्रो संस्करणमा आईपुगेका छौं । तमाम चूनौतिलाई पनि अवसरको रुपमा लिएर दिनरात खटिएर लागि परेका छौं । साँच्चै भन्ने हो निकै ग्राह्रो छ । यस वर्षदेखि केहि संघसंस्थाहरु पनि आवद्ध भएको यसले आगामी दिनमा केही सहज हुने महसुस गरेका छौं ।

अघिल्ला दुई संस्करणको अनुभव कस्तो रह्यो ?
यसअघिका दुई संस्करण भव्यताकासाथ सम्पन्न भए । सबैको सकारात्मक प्रतिक्रिया आयो । त्यही प्रेरणाले तेस्रो संस्करणसम्म आइपुगेका हौं । दोस्रो संस्करणदेखि नै यहाँका स्थानीय संघसंस्थाले पनि हामीलाई सहयोग गरे । यस महोत्सवमा अरु थप संघसंस्था पनि आबद्ध भएका छन् ।

अन्तिममा केही भन्नुछ ?

यो एउटा चलचित्रको उत्सव हो । यो महोत्सव संसारभरका कथाहरुको उत्सव हो । महोत्सव भनेको विभिन्न जातजाति, भाषा संस्कृतिका साथै समाजको कथाको उत्सव हो ।

विभिन्न देशका कथाहरू मार्फत उत्सव मनाइरहेका छौं । यहाँ नेपाल लगायत अन्य देशका विभिन्न विधाका चलचित्रहरू प्रदर्शन भइरहेका छन् । यस्ता चलचित्र पुनः देखाउन सक्दैनौं । त्यो सम्भव पनि छैन । यो एउटा अवसर पनि हो । देशको भूगोल, भाषा र विविधतासँग परिचित गराएका छौं । दर्शकलाई पनि महोत्सवमा सेलिबे्रसन गर्न आग्रह गर्छु । यो समग्री शिलापत्रबाट साभार गरिएको हो ।

कमेन्ट गर्नुहोस्