अख्तियारकै आयुक्तसँग मिलेर भ्रष्टाचार, नासुसँग डेढ करोड अकुत सम्पत्ति

काठमाडौं, असार १६ ।अध्यागमनलगायत आकर्षक कार्यालयमा लामो समय बसेका नायब सुब्बासँग करिब डेढ करोड रुपैयाँभन्दा धेरै अकुत सम्पत्ति भेटिएको छ । पछिल्लो समय इलाका प्रशासन कार्यालय बर्दिबासमा कार्यरत नासु ललितकुमार झासँग एक करोड ५६ लाख ७९ हजार २६ रुपैयाँबराबरको अकुत सम्पत्ति भेटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेकै वेला झामाथि अख्तियारले छानबिन थालेको थियो । उनले १७ असार ०४० मा सरकारी जागिर सुरु गरेका थिए । त्यसयता तीन करोड ८५ लाख ४३ हजार दुई सय ३४ रुपैयाँबराबरको सम्पत्ति जोडेकोमा दुई करोड २८ लाख ६४ हजार दुई सय आठ रुपैयाँबराबरको मात्रै वैध रूपमा आर्जन गरेको भेटिएको अख्तियारले जनाएको छ । स्रोत खुल्न नसकेको एक करोड ५६ लाख सम्पत्ति जफतको माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । अकुत सम्पत्तिमा श्रीमती सुचितादेवी झासमेतलाई प्रतिवादी बनाई अख्तियारले मुद्दा चलाएको छ । अकुत सम्पत्ति उनले श्रीमतीका नाममा राखेका थिए ।

अख्तियारका तत्कालीन आयुक्त राजनारायण पाठकका विश्वासपात्र 
सुब्बा झा घुस प्रकरणमा राजीनामा दिएका अख्तियारका पूर्वआयुक्त राजनारायण पाठकका विश्वासपात्र थिए । पाठकमाथि छानबिनकै क्रममा अख्तियारमा झामाथि समेत उजुरी परेको थियो । ‘उनीसँग आठ–नौ करोड सम्पत्ति नै छ भन्ने सूचना थियो,’ अख्तियार स्रोत भन्छ, ‘तर, धेरै सम्पत्ति भेट्टाउन सकेनौँ ।’ स्रोतका अनुसार पूर्वआयुक्त पाठकले समेत झाकै नाममा सम्पत्ति राखेका थिए । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ क्याम्पसको विवाद मिलाइदिने भन्दै ७८ लाख रुपैयाँ घुस लिएको पुष्टि हुने भिडियो सार्वजनिक भएपछि पाठकले राजीनामा दिएका थिए । अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरिसकेको छ । विशेष अदालतले मागेको ७८ लाख धरौटी बुझाएर उनी तारेखमा छन् ।

पाठक अख्तियारमा हुँदा नासु झालगायत केही कर्मचारीको गोप्य टिम बनाएका थिए । भ्रष्टाचार मुद्दा चलाइदिने धम्की दिएर सो समूहले पैसा असुल्ने गथ्र्यो । समूहका नाइके नै झा थिए । जनकपुर घर भएका उनी पाठकका विश्वासपात्र कर्मचारी भएर आकर्षक कार्यालयमा बसी अकुत कमाएको अनुसन्धानमा आबद्ध अख्तियार अधिकारीले बताए ।  विस्तृत समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

कमेन्ट गर्नुहोस्