शिक्षक लाइसेन्सको फारम भर्ने म्याद थपियो

काठमाडौं, असार १६ । शिक्षक लाइसेन्स परीक्षाको फारम भर्ने म्याद थपिएको छ । यस अघि असार २२ गते सम्म फारम भर्न सकिने गरी खुलेको विज्ञापनमा एक साताको म्याद थपेर २९ गतेसम्म फारम भर्न सकिने शिक्षक सेवा आयोगले जनाएको छ । दोब्बर दस्तुर तिरेर साउन ५ गतेसम्म फारम भर्न सकिने छ । यस अघि दोब्बर दस्तुर तिरी असार २९ गते सम्म फाराम भर्न सकिने गरी विज्ञापन खोलिएको थियो ।

लामो समय देखि रोकिएको शिक्षक लाईसेन्सको विज्ञापन, आयोगले गएको असार २ गते खोलेको थियो । माध्यमिक तहको विभिन्न तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरेको छ ।  साविकको उच्च माध्यमिक तहमा अध्यापन गर्दै आएका शिक्षकहरुले अध्यापन अनुमती पत्र (लाईसेन्स) का लागि खुलेको विज्ञापन स्थगन गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको भोलि पल्ट आयोगले उक्त निर्णय गरेको हो । तर, यो निर्णयमा उक्त मागको कुनै प्रभाव नपरेको आयोगका अध्यक्ष ताना गौतमले दाबी गरे ।

उक्त विज्ञापन तत्काल स्थगन गरी कक्षा ११ र १२ मा वर्षौंदेखि अध्यापन गरिरहेका, योग्यता पुगेका र अस्थायी अनुमती पत्र प्राप्त शिक्षकहरुलाई विना सर्त स्थायी अध्यापन अनूमति पत्र प्रदान गर्न माध्यमिक विद्यालय शिक्षक यूनियनले तिन दिने अल्टिमेटम सहित आईतबार ध्यानाकर्षण पत्र बुझाएको थियो । विज्ञापन नं ३५ वमोजिमको अध्यापन अनुमती पत्रका सम्वन्धमा यूनियनको ध्यानाकर्षण भएको उल्लेख गर्दै उक्त विज्ञापनमा साविक उच्च माध्यमिक तहमा अध्यापन हुने विषय र पाठ्यक्रमलाई पूर्ण वेवास्ता गरी असम्बन्धित विषयवस्तुहरु मात्र समेटिएको दाबी गरिएको छ ।

कमेन्ट गर्नुहोस्