विश्वकपमा रोहितको चौथो शतक, बने सर्बाधिक रनकर्ता

काठमाडौं, असार १७ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बंगालदेश विरुद्धको खेलमा पनि भारतीय टिमका ओपनर रोहित शर्माले शतक बनाएका छन् । बंगलादेशविरुद्ध उनले ५ छक्का र ७ चौकाको मद्दतमा ९२ बलमा १०४ रन बनाए । उनी केएल राहुलसँग १८० रनको साझेदारी गर्दै २९.२ ओभरमा सौम्य सरकारको बलमा क्याच आउट भएका हुन् ।

जारी विश्वकपमा रोहितको यो चौथो शतक हो । विश्वकप २०१९ मा चौथो शतक बनाउने रोहित पहिलो क्रिकेटसमेत बनेका छन् । साथै उनी सर्बाधिक रन बनाउनेको सूचीको शीर्ष स्थानमासमेत उक्लिएका छन् । रोहितले ७ खेलमा ५४४ रन बनाउँदै जारी विश्वकपको सर्बाधिक स्कोरर बन्न सफल भएका छन् । सर्बाधिक रन बनाउनेको सूचीको दोस्रो स्थानमा डेभिड वार्नर छन् ।

आज बंगलादेशलाई हराउन सके भारत सेमिफाइनलमा स्थान बनाउने छ ।तालिकाको दोस्रो स्थानमा रहेको भारतले ७ खेलमध्ये पाँच खेलमा जीत, एक खेलमा हार र एक खेलमा भने वर्षाको कारण अंक बाँड्दै ११ अंक बनाएको छ । बंगलादेशले सात खेलमध्ये तीन खेलमा जीत र तीन खेलमा हार तथा एक खेलमा वर्षाको कारण अंक बाँड्दै ७ अंक जोडेको छ ।

यता, बंगलादेश पनि चमत्कारीपूर्ण प्रदर्शन गर्दै भारतलाई पराजित गरी विश्वकपको सेमिफाइनलमा पुग्ने आफ्नो झिनो सम्भावनालाई कायमै राख्न चाहन्छ । बंगलादेशविरुद्ध भारत स्पष्ट जितको खोजिमा हुनेछ । इंग्ल्यान्डविरुद्ध यसअघि पराजित भएको भारत आजको खेल आफ्नो पकडमा पार्न चाहन्छ ।

भारतको प्लेइङ–११ः विराट कोहली (कप्तान), महेन्द्रसिंह धोनी (विकेटकीपर), रोहित शर्मा, दिनेश कार्तिक, केएल राहुल, मोहम्मद शामी, भुवनेश्वकर कुमार, जसप्रित बुमराह, युजवेन्द्र चहल, हार्दिक पाण्ड्या र ऋषभ पन्त ।

बंगलादेशको प्लेइङ–११ः मुसरफे मुर्तुजा (कप्तान), तमिम इकबाल, शाकिव अल हसन, मुश्फिकुर रहीम (किकेटकीपर), सौम्य सरकार, लिटोन दास, रुबेल हुसेन, सब्बीर रहमान, मुस्तफिजुर रहमान, मोसाद्दिक होसैन र मोहम्मद सैफउद्दिन

कमेन्ट गर्नुहोस्