निर्धारित समयमै सबै परीक्षा हन्छ : लोकसेवा आयोग

काठमाडौं, असार १८ । लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी नियुक्ति गर्न विभिन्न पदका लागि गरिएको विज्ञापन अनुसार पूर्व निर्धारित समयमै सबै परीक्षाहरू हुने जनाएको छ ।

सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएकाले पूर्व घोषित परीक्षा तालिकाअनुसार नै परिक्षा सञ्चालन गर्ने आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले जानकारी दिए । मैनालीले भने, हामी पहिले पनि प्रक्रियामै चलेका हौँ र अब पनि हामीले गर्ने त्यही हो, त्यसैले पूर्व निर्धारित कार्यतालिकाअनुसार तोकिएकै समयमा परीक्षा सञ्चालन हुन्छ ।

आयोगले गत जेठ १५ गते ५ सय १५ वटा स्थानीय तहका लागि करिब ९ हजार पदको लागि विज्ञापन खुल्ला गरेको थियो । त्यसका लागि दरखास्त दिने अन्तिम म्याद हिजो मध्यराती १२ बजेसम्म रहेको थियो । हिजो साँझसम्म ४ लाख ४० हजारले विभिन्न पदका लागि दरखास्त दिएका थिए । विज्ञापन संविधानको मर्मविपरित भएको भन्दै चर्को विरोध भएपछि संघीय संसदको राज्यव्यवस्था तथा सुशासन समितिले त्यसलाई रद्द गर्न निर्देशन दिएको थियो ।

कमेन्ट गर्नुहोस्