मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने

काठमाडौं, असार १८ । नेपालमा मनसुन प्रवेशको घोषणा भएको १३ दिन बितिसक्दा पनि अझै मनसुन पूर्ण सक्रिय भएको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाले यही असार ५ गते मनसुन भित्रिएको घोषणा गरेको थियो ।

मनसुन सक्रिय नहुँदा देशभर गर्मी बढेको छ । नेपालको पूर्वी क्षेत्र हुँदै भित्रिएको मनसुन अझै पूर्ण सक्रिय हुन् ३÷४ दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय रेखा मध्य भारतमै रहेकाले मनसुन कमजोर भएको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताए । उक्त प्रणाली बिस्तारै नेपालसम्म आई पुग्न तीन–चार दिन लाग्नेछ, मौसमविद् प्रधानाङ्गले बताए ।

अहिले मनसुन कमजोर अवस्थामा रहेकाले हल्का र क्षणिक वर्षा मात्र भएको बताइएको छ । तत्काल भारी वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा बिहान र साँझपख हल्का वर्षा हुने गरेपनि मध्याह्नमा चर्को घाम लाग्ने र दिउँसो बदली हुने क्रम जारी छ। आंशिक बदली र घाम लाग्ने क्रमले गर्दा उपत्यकाका बर्ढी गर्मी महसुस गरिएको छ । तीन दिनयता काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३१ देखि ३२ दशमलव ५ डिग्री सेल्सियससम्म पुगेकामा आज ३१ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ । यसअघि जेठ ३१ गते यो वर्षकै बढी तापक्रम ३३ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो ।

राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । मध्य र पश्चिमको एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

त्यस्तै शुक्रबार देशभर सामान्य बदली रही देशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा सामान्यतया मनसुन प्रवेश गर्ने समय जुन १० हो । यसवर्ष १२ दिन ढिलो गरी मनसुन भित्रिए पनि अझै सक्रिय बन्न सकेको छैन ।

नेपालमा साधारणतयाः जुन १० देखि सेप्टेम्बर २३ सम्म ४ महीनाको अवधिलाई दक्षिण एशियाली मनसुनको अवधि भनिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षाको करीब ८०५ वर्षा हुने गर्छ ।महाशाखाको पछिल्लो विवरणअनुसार बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१.२ डिग्री र अधिकतम तापक्रम ३१.८ डिग्री सेल्सियस रहेको छ । त्यस्तै बुधबार दिपायल, धनगढी, नेपालगञ्जको अधिकतम तापक्रम ३७.५ डिग्री सेल्सियस मापन गरिएको छ ।

कमेन्ट गर्नुहोस्