बेरिस्टोको लगातार दोस्रो शतक, न्यूजिल्याण्डले पायो ३०६ रनको चुनौती

काठमाडौं, असार १८ । १२औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको महत्वपूर्ण खेलमा इंग्ल्याण्डले न्यूजिल्याण्डलाई ३०६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०५ रन बनायो । उसका लागि जोनी बेरिस्टोले शतक बनाए । उनले १५ चौका र १ छक्काको मद्दतमा ९९ बलमा १०६ रन बनाए ।

जारी विश्वकपमा बेरिस्टोको यो लगातार दोस्रो शतक हो । यसअघि उनले भारतविरुद्ध १११ रन बनाएका थिए । न्यूजिल्याण्डविरुद्ध उनी र जेसन रोयबीच पहिलो विकेटका लागि १२३ रनको साझेदारी बन्यो । रोयले ६० रन बनाए । जारी विश्वकपमा उनको तेस्रो अर्धशतक हो । साथै रोयले यो विश्वकपमा एक शतकसमेत बनाइसकेका छन् ।

यस्तै कप्तान इओन मोर्गनले ४२, जो रुटले २४, जोस बटलर, आदिल रशिदले १६, बेन स्टोक्सले ११–११, क्रिस ओक्सले ४ रनको योगदान दिए । लायम प्लेङकट १५ र जोफ्रा आर्चर १ रनमा अविजित रहे । बलिङमा जिमी नीशम, म्याट हेनरी, ट्रेन्ट बोल्टले २–२, टिम साउथी र मिचेल सान्टनरले एक–एक विकेट लिए । केही बेरमा न्यूजिल्याण्डले जवाफी ब्याटिङ गर्नेछ ।

कमेन्ट गर्नुहोस्